काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार हुने खेलमा टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
पहिलो क्वालिफायर जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले उपाधि यात्रालाई निरन्तरता दिने अर्को अवसर पाउनेछ । पराजित टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
लुम्बिनीले पहिलो क्वालिफायरका लागि आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन । नियमित कप्तान रोहितकुमार पौडेलकै नेतृत्वमा लुम्बिनी मैदानमा उत्रिएको छ ।
सुदूरपश्चिमले भने पहिलो रोजाइमा तीन परिवर्तन गरेको छ । फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्सेले मौका पाएका छन् । त्यस्तै, दीपक बोहराको स्थानमा अविनाश बोहरा टोलीमा फर्किएका छन् ।
स्कटिस अलराउन्डर म्याकमुलेन आईएल टी–२० खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएपछि उनको स्थानमा आएका अर्का स्कटिस खेलाडी मन्सेले पहिलो रोजाइमा स्थान बनाएका हुन् ।


