काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यावसायिक नेतालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआई) द्वारा आयोजित अन्तक्रियामा उहाँले नेपालमा लगानी र व्यापारका अवसरको खोजी र विस्तार गर्न आह्वान गर्नुभएको हो । उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएकोसमेत बताउनुभयो ।
आफ्नो तीनदिने भारत भ्रमणको तेस्रो तथा अन्तिम दिन आयोजित उक्त अन्तक्रियाका क्रममा अर्थमन्त्री वाग्लेले नेपालमा उदीयमान लगानीका अवसर रहेकाले देशको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीलाई आमन्त्रण गर्नुभयो । नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रमा लगानीका ठुलो अवसर प्रदान गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्न उहाँको आग्रह थियो ।
मन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको बताउनुभयो । नीतिगत सुधारलाई तीव्र बनाउन र अझ बढी अनुमानयोग्य, पारदर्शी तथा लगानीकर्तामैत्री व्यावसायिक वातावरण सिर्जना गर्न सरकारले गरिरहेका प्रयास पनि उहाँले जानकारी गराउनुभयो ।
“डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्,” मन्त्री वाग्लेले भन्नुभयो, “भारतीय व्यवसायीलाई नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा एकीकरणका लागि रणनीतिक साझेदारका रूपमा हेर्न चाहन्छौँ ।’’
अर्थमन्त्री वाग्लेले वार्षिक बजेट, कर सुधार र लगानीकर्तामैत्री नीतिगत पहलमार्फत सरकारले हालै चालेका कदम व्यावसायिक वातावरण सुधार गर्न, लगानीका बाधा हटाउन र निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन लक्षित रहेको स्पष्ट पार्नुभयो । सो क्रममा उहाँले खासगरी लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्र र अन्य उदीयमान क्षेत्रमा नेपाल–भारत आर्थिक साझेदारीको ठुलो सम्भावना रहेकोमा जोड दिनुभयो । उहाँले नेपाल र भारतबिचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको पनि उल्लेख गर्नुभयो ।
अन्तक्रियामा सहभागी भारतीय व्यावसायिक नेता तथा सिआइआईका सदस्यहरूले नेपालमा व्यापार र लगानीका अवसरबारे जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहभागीले अर्थमन्त्रीसँग सम्भावित सहकार्यका क्षेत्रमा छलफल गर्नुका साथै नेपालको लगानी नीति, सुविधा, क्षेत्रगत अवसर र व्यावसायिक वातावरणबारे थप जानकारी खोज्नुभएको थियो । अन्तक्रियामा सिआइआईका पूर्वअध्यक्ष एवं आइटिसी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जीव पुरी, ग्लोबल हेल्थ लिमिटेड (मेदान्ता) का अध्यक्ष डा. नरेश त्रेहान, वरुण बेभरेजका संस्थापक अध्यक्ष रविकान्त जयपुरिया, राइट्सका अध्यक्ष राहुल मिथललगायतको उपस्थिति थियो ।


