काठमाडाैं । उपत्यकाका नेवार समुदायले ‘जीवनमा कहिल्यै चोरीको आरोप नलागोस्’ भन्ने कामनासहित चथाः पर्व मनाइएकाे छ ।
हिजाे मंगलबार बिहान गणेश र राति चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने परम्परा अझै कायम रहेकाे छ। भाद्र शुक्ल चतुर्थीको अवसरमा बिहानै घर चोख्याएर दुबो, लड्डु र मूलासहित भगवान् गणेशजीको पूजा गरिन्छ। साँझ चन्द्रमाको पूजा गर्दा कमलको पात वा अदुवाको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्बा तथा केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइने गरिन्छ ।
याे पर्व विशेष गरी चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी प्रसादका रूपमा खाने चलन रहेको रहेकाे छ । यो पर्व चौथीमा चन्द्रमाको पूजा गरेर मनाइन्छ । नेवार समुदायले याे पर्वलाई सानाे दशैं (माेहनी) काे रूपमा मनाइने चलन रहेकाे छ ।
नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको छ। आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गर्ने प्रचलनसमेत रहेको छ।
पौराणिक कथनअनुसार चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भन्दै जिस्क्याए पछि गणेशले रिसाएर चन्द्रमालाई ‘तिम्रो मुख हेर्ने चोरीको दोष लागोस्’ भन्ने श्राप दिए। त्यो दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोरीको दोष लाग्न थाल्यो। त्यसपछि सबैले चन्द्रमाको मुख हेर्न छोडे।
गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोरीको दोष नलाग्ने वरदान दिएकाले यो दिन साँझमा चन्द्रमाको पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। यस दिन कहीँ कतै गएर केही चोरे पनि आरोप नलाग्नेसमेत तर्क गरिन्छ।


