काठमाडाैं । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइएको छ । तान्त्रिक तथा परम्परागत विधिअनुसार पूजा गरी छनोट गरिएको रूख काटेर तयार पारिएको लिङ्गोलाई सडकमा तान्दै मंगलबार काठमाडौं ल्याइएको हो ।
इन्द्रजात्राको लिङ्गोलाई नेपाल भाषामा ‘याेसिं’ भनिन्छ । नालाको जंगलबाट ल्याइएको यही लिङ्गोलाई विधिपूर्वक तयार पारेर हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मूर्तिअगाडि ठड्याइन्छ । लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरेपछि इन्द्रजात्राको औपचारिक रूपमा सुरू हुने धार्मिक मान्यता छ ।
लिङ्गो छनोट र कटानको प्रक्रिया पनि विशेष धार्मिक विधिसँग जोडिएको छ । परम्पराअनुसार काभ्रेको नाला क्षेत्रमा वनयात्रा गरी पूजा गरेपछि निश्चित विधिबाट रूख छनोट गरिन्छ । विगतमा विशेष पूजा गरिएको बोका जंगलमा छाड्दा उसले छोएको रूखलाई लिङ्गोका लागि छनोट गर्ने चलनसमेत रहेको पाइन्छ ।
काभ्रेको नाला वनबाट काठमाडौंसम्म लिङ्गो तानेर ल्याउने परम्परा आफैँमा इन्द्रजात्राको महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । काभ्रेबाट भक्तपुर हुँदै भोटाहिटी, असन, इन्द्रचोक हुँदै हनुमानढोकासम्म लिङ्गो ल्याउँदा बाटोभरि सर्वसाधारणको भीड लाग्ने गर्छ ।


