काठमाडौं । चीनको तिब्बत हुँदै नेपालको भोटेकोशीमा मिसिने ल्हेन्दे खोलामा हिमपहिरोको कारण ठूलो ताल बनेको चीनले जनाएको छ ।
चीनको जलस्रोत मन्त्रालयले ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा बनेको तालमा बिहीबार बिहानसम्म २० लाख घनमिटर पानी जम्मा भएको र उक्त पानी ताल भरिएर बाहिर जान सुरू गरेको जनाएको छ । चीनको जलस्रोत मन्त्रालयको रिपोर्ट उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेअनुसार, आउँदो तीन दिनभित्र थप ३० लाख घन मिटर पानी जम्मा हुन सक्छ ।
ग्लोबल टाइम्सका अनुसार, चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा यस्तो ताल बनेको हो । नदी थुनिएर बनेको ताल जुनसुकै बेला फुट्न सक्ने र त्यसले नेपालतर्फ झनै ठूलो बाढी ल्याउनसक्ने भन्दै चीनले उक्त तालको निगरानी गरिरहेको पनि समाचारमा जनाइएको छ ।


