काठमाडौं । रसुवाको टिमुरेमा बाढीले ठूलो क्षति पुर्याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुगेका कपिल पाख्रिनले बजार क्षेत्रका प्रहरी चौकी, भन्सार कार्यालय, होटल, पसल तथा सडकमा रहेका सवारीसाधनसमेत बाढीले बगाएको जनाएका छन्।
घटनाबारे उनका अनुसार बाढी आउनुभन्दा करिब एक घण्टाअघि उनीहरू टिमुरे बजार क्षेत्रमा थिए। एक्कासि माथिबाट हुरी, बादल, धुलो, धुवाँ र हिलोसहितको ठूलो बहाव आएको उनले जनाए ।
‘एक्कासि माथिबाट हुरी, बादल, धुलो, धुवाँ र हिलोसहित आयो। हामी त्यहीँ बसेको भए खोलामा मिसिन्थ्यौँ। हामी भित्तातिर भाग्यौँ र पहाडतिर पुग्न सफल भयौँ,’ उनले भने।
उनका अनुसार धेरै मानिसले समयमै भाग्न नसकेको अवस्था छ। बाढीको बहावले प्रहरी चौकीसमेत बगाएको उनले बताए।
‘त्यहाँ प्रहरी चौकी थियो। चौकी पनि सबै बगाएको छ। भन्सारका कार्यालयहरू सबै बगाएको छ। सरकारी भवन केही पनि छैन,’ उनले भने।
टिमुरे बजार तथा खोला आसपास रहेका होटल, पसल र सवारीसाधनसमेत बाढीले बगाएको उनको भनाइ छ। मालवाहक ट्रकहरू पनि बाढीले बगाएको उनले बताए।
अहिले भने बाढीको बहाव केही घटेको उनले जानकारी दिए। माथिबाट हेर्दा खोला सामान्य अवस्थामा फर्किने क्रममा रहेको उनले बताए।
‘अघिभन्दा पानी घटेको छ। बाढी घटेको छ। अहिले माथिबाट हेर्दा खोला सामान्य अवस्थामा फर्किने क्रममा छ,’ उनले भने।
पहिरोसँगै आएको लेदोले बजार क्षेत्र बगाएको र खोलाले धारसमेत परिवर्तन गरेको उनले बताए। ‘पहिरोबाट आएको लेदोले सबै बगाएको छ। खोलाले आफ्नो धार परिवर्तन गरेको छ। जुन ठाउँमा बजार थियो, अहिले त्यही क्षेत्रमा खोला बगिरहेको छ,’ उनले भने।
उद्धारका लागि तत्काल तल झर्न सक्ने अवस्था नरहेको उनले बताए। मौसम अहिले सफा रहे पनि खोला क्षेत्रमा अझै धुलो र जोखिम रहेको उनको भनाइ छ।
‘मौसम सफा छ। तर खोलामा आएको बाढीका कारण तलको क्षेत्रमा अझै धुलो छ। हामी पहाडको डिलमा जम्मा भएर बसेका छौँ,’ उनले भने।
उनका अनुसार अहिले सुरक्षित स्थानमा करिब ८–१० जना मात्रै छन्। तल फर्केर उद्धार गर्न सक्ने अवस्था तत्काल नरहेको र को–को बाँचेर सुरक्षित छन् भन्ने यकिनसमेत हुन नसकेको उनले बताए।
‘जो मान्छे पहाडतिर भाग्न सके, उनीहरू मात्रै सुरक्षित छन्। सम्भव भएसम्म मौसमले साथ दिए तल पनि हेर्ने प्रयास गर्छौँ,’ उनले भने।


