काठमाडौं । साहित्यिक पत्रकार संघको ५५ औँ वार्षिकोत्सवका अवसरमा आज पाँचजना सर्जकहरूलाई सापस विशिष्ट सर्जक सम्मानद्वारा अभिनन्दन गरिएको खबर छ।
अभिनन्दित हुनेहरूमा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास र कलाकारद्वय चैत्यदेवी सिंह तथा सन्तोष पन्त हुन् ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति के. के. कर्माचार्य रहेका थिए।
अन्य मञ्चासीन व्यक्तित्वहरूमा डा. पुरुषोत्तमलोचन श्रेष्ठ, प्रा. मदन चित्रकार, कवि ज्ञान उदास, कलाकारहरू चैत्यदेवी सिंह, सन्तोष पन्त, मदनदास श्रेष्ठ, इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, समालोचक प्रमोद प्रधान तथा कवि दीपा राई पुन रहेका थिए।
सभाका सभापति राधेश्याम लेकाली तथा प्रमुख आमन्त्रित व्यक्तित्व के.के. कर्माचार्यद्वारा दोसल्ला ओढाएर ढाका टोपी र फूलको माला लगाइदिएर अभिनन्दनपत्र समर्पण गरिएको थियो। सो अवसरमा व्यथित काव्य डायस्पोरा सम्मान २०८२ दीपा राई पुन (अमेरिका)लाई समर्पण गरिएको थियो।
प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व कुलपति के.के. कर्माचार्यले अभिनन्दित व्यक्तित्वहरू कोही आफ्नो बालसखा रहेको र कोही पर्दा मार्फत् चिनेको बताए। साहित्यिक पत्रकार संघले यसरी स्रष्टाहरूको चयन गरेर सम्मान तथा अभिनन्दन गर्ने गरेकोमा प्रशंसा गर्दै उनले अभिनन्दित व्यक्तित्वहरूलाई बधाई दिएका थिए।
संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमाथि संक्षेपमा प्रकाश पारेका थिए। वि.सं. २०२९ सालमा स्थापित साहित्यिक पत्रकार संघले विभिन्न जङ्घारहरू तर्दै आएको बताए। कहिले खोला, कहिले नदी र कहिले समुद्र पनि बनेको बताउँदै उनले संघले विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको बताए। संस्थापक अध्यक्ष भवानी घिमिरेको स्मरण गर्दै उनले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको, २०६४ सालसम्म गाईजात्रा कार्यक्रमको आयोजना गरेको, हालसम्म धेरैजना स्रष्टाहरूको सम्मान, अभिनन्दन गरेको र हाल स्रष्टाहरूका कृतिहरूलाई अडियोमा ल्याउन थालेको बताए।
समालोचक प्रमोद प्रधानद्वारा अभिनन्दित व्यक्तित्वहरूको संक्षिप्त परिचय दिइएको थियो । परिचय दिने क्रममा उनले बयासी वर्षीय ज्ञान उदास कवि साहित्यकार मात्र नभई एक पत्रकार समेत भएको बताए। उदासका हालसम्म आठ थान कृतिहरू प्रकाशित भइसकेको र हस्ताक्षर नामक सङ्ग्रह समेत सम्पादन गरेको बताए। सम्मान तथा अभिनन्दन कार्यक्रम बाहेक स्रष्टाहरूको कृति प्रदर्शनी र अप्रकाशित कृतिहरू प्रकाशन गर्नेतर्फ सोच्नुपर्ने बताए।
त्यसैगरी प्रा. मदन चित्रकारका विषयमा बोल्दै प्रमोद प्रधानले मदन चित्रकारलाई विरासतमा प्राप्त प्रतिभा भएको बताए। प्रख्यात चित्रकार तेजबहादुर चित्रकारका पुत्र मदन चित्रकारका कला सम्बन्धी थुप्रै पुस्तकहरू रहेको र केही अंग्रेजीमा समेत रहेको बताए। २०३४ मा पहिलोपटक चित्रकला प्रदर्शनी
गरेका मदन चित्रकारका चित्रकलामा धर्म र दर्शन, मन्त्र र श्लोकहरू समेत देखिन्छ भन्दै उनका चित्रहरू ज्यामितीय आकारमा रहेको बताए। चित्रकारले कला सम्बन्धी प्राध्यापन पनि गर्दैआएको बताए। कलाकार चैत्यदेवी सिंहका बारेमा बोल्दै प्रधानले कुमारी चलचित्रकी नायिकाले २०२२ सालमा आमा चलचित्रमा आमाकै भूमिका खेलेको बताए। सोभियत संघ रूसबाट कलामा एम.ए. गरेकी सिंह विदेशमा चलचित्र सम्बन्धी अध्ययन गर्ने पहिलो व्यक्ति समेत भएको बताए। चैत्यदेवी अभिनय, नृत्य र गीति नाटक कलाकार मात्र नभई चलचित्र सह-निर्देशक समेत भएको बताउँदै उनले चलचित्र ‘जीवन रेखा’ को प्रसङ्ग उठाएका थिए।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका बारेमा संक्षेपमा प्रकाश पार्दै प्रमोद प्रधानले डा. श्रेष्ठ इतिहास, पुरातत्त्व तथा संस्कृति सम्बन्धी कार्यमा समर्पित रहेको बताए। प्राध्यापक सेवामा रहेका श्रेष्ठका कृतिहरू प्रशस्त रहेको बताउँदै अरूले नगरेको काममा उनले हात हालेको बताए। नेवारी संस्कृति क्षेत्रमा अनुसन्धान र शोध गर्दै आएका श्रेष्ठको सिद्धपोखरी, सुकुल ढोका आदि कृतिको चर्चा गरेका थिए। त्यसैगरी,कलाकार सन्तोष पन्तको बारेमा बोल्दै समालोचक प्रमोद प्रधानले अभिनयमा विविधता ल्याउने कलाकारको रूपमा चिनिएको बताए। रेडियो नाटक, स्टेज प्रोग्राम, सिरियलमा छुट्टै पहिचान बोकेका पन्तले प्रतिस्पर्धाको युगमा आफूलाई अरुभन्दा अलग रूपमा प्रस्तुत गर्न सफल रहेको बताए।
अभिनन्दित व्यक्तित्वहरूले पनि आ-आफ्नो मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उहाँहरूले खोजी खोजी सम्मान तथा अभिनन्दन गरेकोमा आभार प्रकट गर्दै धन्यवाद दिएका थिए। मन्तव्यका क्रममा कवि ज्ञान उदासले आफ्नो दुइटा मुक्तक वाचन गरेर सुनाएका थिए।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कलाकार मदनदास श्रेष्ठ तथा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा किरण खरेलको शब्द, चन्द्रराज शर्मा, शिवशंकरको सङ्गीत रहेको तारादेवीले गाएको गीत ‘आँखाहरूले रून नखोजे, ओठहरूले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला’ बोलको गीतलाई गायिका सरिता शाहीले मीठो लय र स्वरमा गाएर सुनाएकी थिइन्।
अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको कार्यक्रममा संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ले गरेकी थिइन्।
image.pngमन्जिला अनिलको ‘बुवाहजुर’ महाकाव्य लोकार्पित
२०८३ साउन ३० गते, प्रज्ञाभवन, काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आज अनेसास नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष साहित्यकार मन्जिला अनिलद्वारा लिखित ‘बुवाहजुर’ महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित आधिकारिक महाकाव्यको लोकार्पण समारोहको आयोजना गर्यो ।
भागवत वाचक अजितप्रसाद गौतम प्रमुख अतिथि रहेको सो कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा केन्द्रीय कार्यसमिति सदस्य राजेन्द्र के. सी.को अध्यक्षतामा सम्पन्न भएको थियो ।
मन्चासीन र अन्य आमन्त्रित अतिथिहरुले सामूहिक कृतिको लोकार्पण गरिएको सो कार्यक्रमका प्रमुख अतिथि गौतम, अध्यक्ष के.सी., विशिष्ट अतिथिहरु साहित्यकार एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र पदम देवकोटा, त्रिविवि नेपाली विभागका पूर्व प्रमुख प्राडा. खगेन्द्रप्रसाद लुइटेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार प्रतीक ढकाल, प्राडा. बि ओ टी सल्लाहकार तीर्थ अधिकारी, पूर्व सूचना आयुक्त कमला ओली लगायतले मन्तव्य राखेको सो कार्यक्रममा अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, केन्द्रीय समितिका निवर्तमान सदस्य तारा उप्रेतीसमेतको उपस्थिति रहेको थियो ।
यसअघि प्रमुख अतिथि भागवत वाचक अजितप्रसाद गौतमले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको सो कार्यक्रममा अतुल स्मृति गुरुकुलका बालबालिकाबाट मङ्गलाचरण प्रस्तुत गरिएको थियो ।
लोकार्पित कृतिबाट कविहरु कल्पना काफ्ले र कवि भवानी खतिवडाले केही श्लोक वाचन वाचन गरेकी थिइन् ।
कार्यक्रममा लोकार्पित कृतिको समीक्षा साहित्यकार डा. देवी नेपाल र समालोचक ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए भने कृतिका सर्जक मन्जिला अनिलले लेखकीय मन्तव्य राखेकि थिइन् ।
मन्तव्यमा महाकाव्यकार मञ्जिला अनिलले महाकवि देवकोटासम्बन्धी समाजमा भ्रमहरू फैलिएको हुनाले ती भ्रमलाई चिर्नको लागि ‘बुवाहजुर’ लेखेको बताइन् ।
कार्यक्रममा अनेसास नेपाल च्याप्टरको तर्फबाट कृतिकार मन्जिला अनिललाई सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र वरिष्ठ आख्यानकार राजेन्द्र विमलप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।
महासचिव रन्जना निरौलाले स्वागत र उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको सहजीकरण डा. घनश्याम खतिवडाले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भागवत वाचक अजितप्रसाद गौतम, कृति समीक्षकद्वय डा. देवी नेपाल र ज्ञाननिष्ठ ज्ञवाली, अतुल स्मृति गुरुकुल र कार्यक्रम सहजकर्ता डा. घनश्याम खतिवडालाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार, पत्रकार, आयोजक संस्था अनेसासका सदस्य र मन्जिला अनिलका परिवारको बाक्लो उपस्थिति रहेको थियो ।

