काठमाडौं । केही समयअघि राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका धवल शम्शेर राणा र दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल जय नेपाल पार्टी घोषणा गर्ने भएका छन् ।
उनीहरूले साउन २८ गते पार्टी घोषणा गर्दै सोही दिन निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने तयारी गरेका छन् ।
नेता सगुन लावतीका अनुसार पार्टीको अध्यक्ष धवल शमशेर राणा रहने भएका छन् । दुर्गा प्रसाईं सर्वोच्च नेता बन्नेछन् ।
नयाँ पार्टी गठनको लागि उनीहरूले यसअघि नै विभिन्न समिति बनाएका थिए ।
बुधबार बसेको तयारी समितिको बैठकबाट ‘जय नेपाल’ नाममा पार्टी खोल्ने निर्णय गरेको लावतीले बताए । राणाले गत जेठ १७ गते राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थिए। नेतृत्वले समयमा महाधिवेशन नबोलाएको र पार्टी जनभावनाअनुकूल अघि नबढेको भन्दै संस्थापन पक्षसँग असहमति राखेका थिए ।
त्यसक्रममा पार्टीका विभिन्न तहका १८५ जना नेताहरूले राप्रपा छाडेका थिए । प्रसाईं केही वर्षदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ सञ्चालन गर्दै आएका छन् । दुवै नेताबीच गत जेठ २२ गते नयाँ पार्टी खोल्ने सहमति भएको थियो । संवैधानिक राजतन्त्र र सनातन धर्मको पक्षमा उभिने प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण गर्ने लक्ष्य नवोदित दलको रहेको लावतीले बताए ।


