काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना भएका छन् ।
ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दैनिक बुलेटिनअनुसार विपद्का घटनाबाट प्रभावित जिल्लाको संख्या ३७ पुगेको छ । घटनामध्ये सबैभन्दा बढी पहिरोका १२, सर्पदंशका १५, आगलागीका ६, चट्याङका २, बाढीका २, वनडढेलोका ५ तथा जनावर आक्रमणका २ घटना रहेका छन् । विपद्का कारण करिब २३ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । साथै ६ वटा सडक अवरुद्ध भएका छन् भने ७ वटा चौपाया मरेका छन् ।
घटनामा प्रभावित क्षेत्रहरूमा सुरक्षाकर्मी तथा स्थानीय निकायको समन्वयमा उद्धार तथा राहत कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । बुलेटिनअनुसार विभिन्न घटनामा १९ जनाको उद्धार गरिएको छ भने १ हजार ७ सय ५६ सवारी साधन परिचालन गरिएको छ। प्राधिकरणले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, चट्याङ र सर्पदंशबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।


