न्युयोर्क । अर्जेन्टिना आइतबार राति फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि विश्वकप फुटबल प्रतियोगिता–२०२६ को उपाधि रक्षाबाट वञ्चित भयो । यस हारसँगै अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्व च्याम्पियन भएर ब्राजिलको कीर्तिमान बराबरी गर्ने सपना पूरा भएन । यसअघि सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । यसै गरी अर्जेन्टिना चौथो पटक विश्वकप उपाधि जितबाट चुकेको हो । यसअघि अर्जेन्टिनाले सन् १९७८, १९८६ र २००२ मा उपाधि हात पारेको थियो । अर्जेन्टिना फाइनलमा हार्नुमा यी पाँच प्रमुख कारण मानिएका छन् ।
मेसीमाथि अत्यधिक निर्भरता
विश्वकप फुटबल–२०२६ को सुरुवात ह्याट्रिकबाट गर्ने अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले प्रिक्वाटरफाइनलसम्म लगातार आठ गोल गरेर कीर्तिमान राख्नुभयो तर फाइनलमा स्पेनले आफ्नो खेल अवधिभर मेसीलाई चुप राख्यो । मेसीको सिर्जनात्मक खेल फाइनलमा देखिएन । यस खेललाई मेसीको विश्वकपमा अन्तिम खेलका रूपमा लिइएको छ । त्यसैले मेसीको बिदाइ पीडादायी बन्यो भन्दा फरक पर्दैन । मेसीले स्पेनको गोलपोस्टमा मात्र एक प्रहार गर्नुभयो, त्यो पनि गोलपोस्ट लक्षित थिएन ।
डिफेन्सिभ खेल
अर्जेन्टिनाको रणनीति सुरुदैखि नै डिफेन्सिभ खेल्ने रह्यो । यसले गर्दा पनि मेसीले खुलेर खेल्न पाउनुभएन । अर्जेन्टिनाले आफ्नो आक्रामक खेललाई विश्वास गर्नेभन्दा स्पेनलाई रोकेर उनीहरूलाई निराश पार्ने रणनीति अपनायो । स्पेनले धेरै गोल गर्ने अवसर गुमाउँदा मात्र अर्जेन्टिना फराकिलो हारबाट जोगिएको हो । यसै गरी अर्जेन्टिनाका गोलरक्षक इमिलियोनो मार्टिनेजको सानदार प्रदर्शनले पनि खेल अतिरिक्त समयसम्म पुगेको थियो । खेललाई अतिरिक्त समयमा लग्नु नै अर्जेन्टिनाको सबभन्दा ठुलो उपलब्धि बन्यो । निर्धारित समयसम्म अर्जेन्टिनाको एक प्रहार पनि थिएन । खेलको अन्तिम समयमा मात्र अर्जेन्टिनाले गोल गर्ने केही अवसरको सिर्जना गरेको थियो । जुलियानो सिमियोनले दुई गोल हुने खालका प्रहार गर्नुभएको हो तर यसपालि भाग्य अर्जेन्टिनाको साथमा थिएन ।
स्पेनी मिडफिल्डको दबदबा
मिडफिल्डमा प्रभुत्व बनाएर खेल नियन्त्रणमा राख्ने स्पेनको खेल्ने शैली नै हो तर अर्जेन्टिनाविरुद्ध स्पेनले पूर्ण रूपमा मिडफिल्डमा दबाब बनाउँछ भनेर सायदै कसैले सोचेको होला । स्पेनको मिडफिल्डले खेलको गति नियन्त्रण ग¥यो । अर्जेन्टिनाका खेलाडीलाई लामो समयसम्म बल राख्न नै दिएन । स्पेन आफ्नो तीव्र पासका लागि पहिले नै चर्चित छ तर यस प्रतियोगितामा स्पेन विपक्षी खेलाडीबाट बल खोस्ने कलामा पनि उत्तिकै प्रभावशाली दखियो । सोही अनुरूप स्पेनका खेलाडीले प्रायः बल आफ्नो नियन्त्रणमा राखेर अर्जेन्टिनालाई लय हासिल गर्न दिएन ।
फर्नान्डेजलाई रातो कार्ड
उत्तरार्धको इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले रातो कार्ड पाउनु पनि अर्जेन्टिनाको हारको कारण बन्यो । पाउ कुबार्सीलाई खतरनाक तरिकाले लडाएपछि एन्जोले दोस्रो पहेँलो कार्ड पाउनुभयो र उहाँ मैदान छोड्न बाध्य बन्नुभयो । त्यसपछि पहिले नै दबाबमा रहेको अर्जेन्टिनामाथि स्पेन थप हावी बनेको थियो । त्यसपछि अतिरिक्त समयको दोस्रो हाफको छैटौँ मिनेटमा स्पेनका फेरान टोरेजले गोल पनि गर्नुभयो । यसअघि डिफेन्डर लिजान्द्रो मार्टिनेजले पूर्वार्धमै चोटका कारण मैदान छोड्नु परेकाले पनि अर्जेन्टिनालाई समस्यामा पारेको थियो । त्यसपछि प्रशिक्षक लियोनेल स्कालोनीले यस विश्वकपमा समूह चरणमा एक खेल मात्र खेलेका डिफेन्डर निकोलस ओटामेन्डीलाई मैदानमा उतार्न बाध्य भएको थियो ।
स्पेनको एकजुट प्रदर्शन
स्पेनी टिममा किलियन एम्बाप्पे, लियोनेल मेसी अथवा क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार छैनन् तर स्पेनको टिम एकजुट भएर खेल्छ, त्यो नै उसको सबभन्दा ठुलो शक्ति बन्यो । मिकेल ओयरजाबालका पाँच गोल, रोड्री र पेड्रीको उत्कृष्ट प्लेमेकिङ, मार्क कुकुरेलाको मेहनत र मिकेल मेरिनोको बेन्चबाट आएर गरेको प्रभावशाली प्रदर्शनले गर्दा स्पेनी टिममा कुनै एक महìवपूर्ण खेलाडी छुट्याउन कठिन हुन्छ । यस विश्वकपमा स्पेनका सबै खेलाडीले आआफ्नो भूमिका शतप्रतिशत निर्वाह गरे । प्रशिक्षक लुइस डे ला फुएन्टेलाई यसको श्रेय दिनु पर्छ ।
यसपालि सर्वश्रेष्ठ विधामा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन बुटबाहेक सबै व्यक्तिगत पुरस्कार स्पेनी खेलाडीले जिते । सर्वश्रेष्ठ युवा खेलाडी पाउ कुबार्सी घोषित हुनुभयो ।
सर्वश्रेष्ठ खेलाडीलाई दिइने गोल्डेन बलको विजेता स्पेनका कप्तान रोड्री बन्नुभयो । स्पेनकै गोलरक्षक उनाइ सिमन्सले सर्वश्रेष्ठ गोलरक्षक चुनिएर गोल्डेन ग्लोभ्स प्राप्त गर्नुभयो । गोलरक्षक सिमन्सले ६५० मिनेटसम्म विश्वकपमा गोल नबेहोरेर कीर्तिमान राख्नुभएको थियो । एपी


