काठमाडौं । निर्धारित र थप गरिएको समयको रोमाञ्चक खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउट (टाइब्रेकर) मा नेदरल्यान्ड्सलाई ३–२ ले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
मेक्सिकोको मोन्टेरे रंगशालामा मंगलबार भएको राउन्ड अफ ३२ को खेलमा मोरक्कोले डच टोलीको चुनौती पन्छाएको हो । टाइब्रेकरमा मोरक्कोका लागि इस्माइल सइबारीले बल जालीमा चुमेपछि मोरक्कन खेलाडी र समर्थक खुसीयालीमा झुमेका थिए । निर्णायक पेनाल्टी प्रहार गरेलगत्तै सइबारीले जर्सी फुकालेर जितको उत्सव मनाएका थिए ।
यसअघि खेलको ७२ औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा मोरक्कोका इसा डियोपले हेडमार्फत बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जितसँगै मोरक्कोले अब आगामी शनिबार हुने अन्तिम १६ को खेलमा क्यानडाको सामना गर्नेछ भने उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएको छ ।


