एजेन्सी । स्टेफन इस्टाकियोले इन्जुरी समयको दोस्रो मिनेटमा गरेको निर्णायक गोलमा क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले हराउँदै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।
लस एन्जलस स्टेडियममा आइतबार राति भएको अन्तिम ३२ को खेलमा निर्धारित ९० मिनेटसम्म गोल भएन । इन्जुरी समयमा पुग्दा इस्टाकियोले पेनाल्टी क्षेत्रको किनारबाट उत्कृष्ट प्रहार गर्दै क्यानडालाई ऐतिहासिक जित दिलाए।
पहिलो हाफमा दक्षिण अफ्रिकाले केही अवसर सिर्जना गरे पनि फिनिसिङमा कमजोर हुँदा गोल गर्न सकेन। खेलको अन्त्यतिर क्यानडाले पनि दुई राम्रो अवसर खेर फाल्यो ।
अब्रे मोडिबाले मोइसे बोम्बिटोको हेडर गोललाइनबाट क्लियर भयो भने गोलकिपर रोनवेन विलियम्सले ताजोन बुचाननको प्रहार बचाए।
दोस्रो हाफमा क्यानडाले खेलमा नियन्त्रण बढायो। तानी ओलुवासेयीको प्रहार विलियम्सले बचाएपछि एम्बेकेजेली एमबोकाजीले रिबाउन्डलाई गोल हुनबाट जोगाए।
७५औँ मिनेटमा अल्फोन्सो डेभिस मैदान प्रवेश गरेपछि क्यानडाको आक्रमण थप प्रभावकारी बनेको थियो। अन्ततः इस्टाकियोले इन्जुरी समयमा बाउन्स भएको बललाई सिधै जाली चुमाउँदै टोलीलाई विजयी बनाए। इस्टाकियो प्लेयर अफ दि म्याच बने।
अब क्यानडाले क्वार्टरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकपको नकआउट चरणसम्म पुगेर इतिहास रचेको थियो।
७४ वर्ष ७९ दिनका दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुस विश्वकपको नकआउट चरणमा टोलीको नेतृत्व गर्ने सबैभन्दा पाका प्रशिक्षक बने। यसअघि उरुग्वेका ओस्कार ताबारेजले सन् २०१८ मा ७१ वर्षको उमेरमा बनाएको कीर्तिमान तोडिएको हो।


