एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमाञ्चक खेलमा अल्जेरिया र अस्ट्रियाले ३-३ को बराबरी खेल्दै दुवैले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। खेलको इन्जुरी समयमा भएको २ गोलले दुवै टोलीलाई अन्तिम ३२ मा पुर्यायो भने इरान प्रतियोगिताबाट बाहिरिएकाे छ।
कान्सास सिटी स्टेडियममा भएको खेलमा अस्ट्रियाले २ पटक अग्रता लिए पनि अल्जेरियाले दुवै पटक पुनरागमन गर्यो। इन्जुरी समयको तेस्रो मिनेटमा रियाद महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै अल्जेरियालाई ३-२ को अग्रता दिलाएका थिए। त्यसबेला अल्जेरिया समूहको दोस्रो स्थानमा उक्लिएको थियो भने इरान उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा नकआउट चरणमा पुग्ने अवस्थामा थियो। तर खेलको इन्जुरी समयको छैटौं मिनेटमा सासा कालाज्ड्जिचले हेडमार्फत बराबरी गोल गरेपछि अस्ट्रियाले महत्वपूर्ण एक अंक बचायो। त्योसँगै दुवै टोलीले नकआउट चरणमा स्थान बनाउँदा इरानको यात्रा समूह चरणमै टुंगिइएकाे छ।
इरानले आफ्ना तीनवटै खेल बराबरी खेलेको थियो। इजिप्टसँग १&१ को बराबरी खेल्दा अन्तिम समयमा गरेको सम्भावित विजयी गोल भिएआरले अफसाइड ठहर गरेपछि टोलीको सम्भावना कमजोर बनेको थियो। यो खेलअघि बराबरीले दुवै टोलीलाई अगाडि बढाउने निश्चित भए खेल रोमान्चक रह्यो । दुवै टोलीले सुरुदेखि अन्त्यसम्म आक्रामक खेल प्रस्तुत गरे। अस्ट्रियाका लागि मार्को अर्नाउटोभिचले २८औं मिनेटमा डेभिड अलाबाको लामो पासलाई सदुपयोग गर्दै गोल गरे। पहिलो हाफको इन्जुरी समयमा रफिक बेलघालीले बराबरी गोल फर्काए। ५५औं मिनेटमा मार्सेल साबित्जरले कोनराड लाइमरको कटब्याक पासमा गोल गर्दै अस्ट्रियालाई पुनः अग्रता दिलाए। तर पाँच मिनेटपछि हौसेम आउआरको उत्कृष्ट क्रसमा रियाद महरेजले गोल गर्दै खेल २-२ बनाएकाे थियाे ।
८५औं मिनेटपछि खेलको गति केही सुस्त बने पनि इन्जुरी समयमा नाटकीय मोड आयो। महरेजले इन्जुरी समयको तेस्रोमिनेटमा गोल गर्दै अल्जेरियालाई ३-२ ले अगाडि बढाए। तर त्यसको तीन मिनेटपछि कालाज्ड्जिचले निर्णायक हेडर गर्दै अस्ट्रियालाई ३-३ को बराबरी दिलाए।
३५ वर्षीय महरेजले विश्वकपमा पहिलो पटक गोल गर्दै २ गोलको योगदान दिए र अल्जेरियालाई नकआउट चरणमा पुर्याउन महत्वपूर्ण भूमिका खेले। समूह ‘जे’ को उपविजेता बनेको अस्ट्रियाले अन्तिम ३२ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। अल्जेरियाले उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा स्विट्जरल्यान्डसँग भेट गर्नेछ। समूहको अर्को खेलमा जोर्डनलाई ३-१ ले हराउँदै साविक विजेता अर्जेन्टिनाले समूहमा सतप्रतिशत नतिजा निकाल्यो।


