काठमाडौं । जल तथा मौसम विज्ञान विभागले शनिबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । भोलि आइतबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
कोशी प्रदेशका पहाडी तथा तराई भूभागको एक, दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहरको सम्भावना छ । यसैगरी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
पर्सी सोमबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

