काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टबीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ। अमेरिकाको सियाटलमा गएराति सम्पन्न खेलमा दुवै टोलीले १–१ गोल गर्दै अंक बाँडे।
खेलको १९औँ मिनेटमा इजिप्टले अग्रता बनाएको थियो। कप्तान मोहम्मद सलाहको उत्कृष्ट पासलाई सदुपयोग गर्दै इमाम अशोरले पेनाल्टी क्षेत्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। राष्ट्रिय टोलीका लागि अशोरको यो पहिलो गोल हो।
पहिलो हाफमा पछाडि परेको बेल्जियमले दोस्रो हाफमा अनुभवी स्ट्राइकर रोमेलु लुकाकुलाई मैदानमा उतारेपछि आक्रमणलाई तीव्र बनाएको थियो। त्यसको प्रभावस्वरूप खेलको अन्त्यतिर इजिप्टका डिफेन्डर मोहम्मद हानीले लुकाकुलाई रोक्ने प्रयासमा दुर्भाग्यपूर्ण रूपमा आफ्नै पोस्टमा गोल गरे।
आत्मघाती गोलपछि खेल १–१ को बराबरीमा पुगेको थियो। बाँकी समयमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमै समाप्त भयो।


