एजेन्सी । लामो प्रतीक्षा समाप्त भएको छ। क्यानडा, मेक्सिको र अमेरिकालाई फिफा विश्वकप २०२६ को आयोजक चुनिएको ठीक आठ वर्षपछि, जुन ११ देखि यो ऐतिहासिक खेल उत्सव सुरु हुँदैछ।
विश्वभर फुटबलको ज्वरो चढिरहेका बेला अहिले सबैको नजर मेक्सिकोमाथि छ। घरेलु टोली मेक्सिकोले उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ। खेल आज राति पौने एक बजे सुरु हुनेछर
संयोगवश यी दुई टोलीले सन् २०१० को विश्वकपको उद्घाटन खेलमा पनि एक-अर्काको सामना गरेका थिए।
पहिलो दिनकै अर्को खेल ग्वाडालाजारामा हुनेछ, जहाँ एसियाली शक्ति दक्षिण कोरिया र युरोपेली टोली चेक भिड्नेछन्। चेक टोली प्ल-अफ जितेर उच्च मनोबलका साथ मैदान उत्रिनेछ।
१०४ खेलको यो विशाल प्रतियोगिताको सुरुवात मेक्सिको र दक्षिण अफ्रिकाको खेलबाट हुनेछ। दक्षिण अफ्रिका यसअघि २०१० मा आयोजक हुँदा मेक्सिको विरुद्ध खेलेको थियो, यसपालि मेक्सिको आयोजक हुँदा दक्षिण अफ्रिका विरुद्ध खेल्दैछ। दक्षिण अफ्रिकाका मुख्य खेलाडी अब्रे मोडिबा चोटमुक्त भई टोलीमा फर्किएका छन्।
सम्भावित सुरुवाती एघार
मेक्सिको: रंगेल, गालार्दो, भास्केज, मोन्टेस, रेयेस, गुटिएरेज, लिरा, फिडाल्गो, क्विनोनेस, अल्भाराडो, जिमिनेज।
दक्षिण अफ्रिका: विलियम्स, मुडाउ, ओकोन, म्बोकाजी, मोडिबा, मोकोएना, सिथोले, म्बाथा, मोरेमी, फोस्टर, एपोलिस।
प्रशिक्षक र खेलाडीको भनाइ:
जाभियर अगुइरे (मेक्सिकोका प्रशिक्षक): ‘आफ्नै देशमा विश्वकप खेल्नु जस्तो खुसी ५० वर्षको फुटबल करियरमा मैले अरू केहीमा पाएको छैन। यो अविस्मरणीय छ। हाम्रा खेलाडीहरू एउटा परिवार जस्तै एकजुट भएका छन्।‘
ह्युगो ब्रुस (दक्षिण अफ्रिकाका प्रशिक्षक): ‘हामी ९० मिनेटसम्म प्रत्येक मिटर र प्रत्येक बलका लागि लड्नेछौँ। त्यसपछिको नतिजा जे होला।’
ठ्याक्कै १६ वर्षअघि आजकै दिन (जुन ११) सन् २०१० को विश्वकपमा यी दुई टोली भिडेका थिए। त्यसबेला दक्षिण अफ्रिकाका सिफिवे साबालालाले उत्कृष्ट गोल गरेका थिए भने मेक्सिकोका राफायल मार्खेजले जवाफी गोल गर्दै खेल बराबरी गरेका थिए। रोचक कुरा त के छ भने, तिनै मार्खेज अहिले मेक्सिको टोलीको सहायक प्रशिक्षकको रूपमा मैदानमा हुनेछन्।


