काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको रोमाञ्चक क्वार्टरफाइनल भिडन्तमा थाइल्यान्डले नेपालसामु जितका लागि १३१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। वायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३० रनको योगफल तयार पारेको हो।
थाइल्यान्डलाई बलियो स्थितिमा पुर्याउन प्रारम्भिक ब्याटर नानापत कोन्चारोन्काइले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। नेपाली बलरहरूमाथि हाबी भएकी उनले ५१ बलको सामना गर्दै अविजित ६३ रनको महत्त्वपूर्ण योगदान दिइन्। त्यस्तै, फनिता मायाले २६ रन र चनिदा सुथिराङले १६ रन जोड्दै टोलीको स्कोर बढाए।
नेपाली टोलीका तर्फबाट कसिलो बलिङ गर्ने प्रयास भए पनि थाइल्यान्डका मुख्य ब्याटरहरूलाई सस्तैमा समेट्न सकिएन। नेपालका लागि बलिङतर्फ कविता कुँवर, रिया शर्मा र पूर्व कप्तान रुबिना क्षेत्रीले समान १–१ विकेट लिन सफल भए। आगामी महिला एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्नका लागि नेपालका लागि यो खेल जित्नैपर्ने दबाब छ। यस प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली सिधै एसिया कपका लागि छनोट हुने प्रावधान छ ।
सेमिफाइनल यात्रा तय गर्न नेपालले अबको केही बेरमा जवाफी ब्याटिङ सुरु गर्दै १३१ रनको लक्ष्य पछ्याउनेछ।


