काठमाडौं । भारतिय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नविनले रास्वपा सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा संवाद गर्न पाउँदा खुसी लागेको जनाएका छन्।
भाजपा मुख्यालयमा रवि लामिछानेसँगको भेटवार्तापछि सामाजिक सञ्जालमा तस्बिर राख्दै अध्यक्ष नीतिनले संवाद गर्न पाउँदा खुसी लागेको जनाएका छन् ।
साथै नविनले भाजपा र रास्वपाबीच पार्टी टु पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भएको उल्लेख गरेका छन् । उनका अनुसार सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा जमीनी तहका कार्यकर्तासँग भाजपाको गहिरो सम्बन्धका बारेमा रास्वपाले चासो राखेको थियो ।
उनले भेटका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व विकास र जनसेवामा भाजपाको शासन मोडेलका बारेमा समेत छलफल भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्ः
‘KNOW BJP पहलअन्तर्गत भाजपा मुख्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) नेपालका सभापति श्री रवि लामिछानेज्यू तथा उहाँसँग आउनुभएको प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा र उहाँहरूसँग संवाद गर्न पाउँदा खुशी लागेको छ।
BJP–राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) बीच पार्टी-टु-पार्टी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सार्थक छलफल भयो। उहाँहरूलाई भाजपाको शीर्ष तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचनाबारे जानकारी गराइयो। साथै सदस्यता विस्तार, उम्मेदवार छनोट प्रक्रिया तथा जमीनी तहका कार्यकर्तासँग भाजपाको गहिरो सम्बन्धका बारेमा उठाइएका प्रश्नहरूको उत्तर पनि दिइयो।
माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको नेतृत्वमा विकास र जनसेवामा भाजपाको शासन मोडेलको केन्द्रमा कसरी रहेका छन् भन्ने विषयमा पनि विस्तृत छलफल भयो।’

