काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ग्राहकको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित बैङ्क, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ । केन्द्रीय बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै डिजिटल माध्यमबाट हुने कारोबारलाई सुरक्षित बनाउन यस्तो आग्रह गरेको हो ।
बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ र भुक्तानी सेवा प्रदायकका डिजिटल वालेट ग्राहकको मोबाइल नम्बर वा इमेल ठेगानासँग आबद्ध हुने गर्दछन् । ग्राहकका खातासम्बन्धी महत्त्वपूर्ण विवरण सोही माध्यममा जोडिने भएकाले यस विषयमा सचेत रहन राष्ट्र बैङ्कले जनाएको छ । केन्द्रीय बैङ्कका अनुसार कुनैपनि कारणले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा ग्राहकले सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुपर्छ ।
राष्ट्र बैङ्कले भनेको छ, “आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित संस्थालाई समयमै नदिए खाताको विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ ।” राष्ट्र बैङ्कले मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र वित्तीय सेवा प्रदायकलाई जानकारी गराई आफ्ना वित्तीय विवरण सुरक्षित राख्न सुझाएको छ ।


