काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात टाइटन्सलाई हराउँदै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा बेंगलुरुले गुजरातमाथि ५ विकेटको जित हासिल गर्यो । गुजरातले दिएको १५६ रनको मध्यम लक्ष्य बेंगलुरुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कगिसो रबाडा र अर्शद खानले १-१ विकेट लिए ।
बेंगलुरुका लागि रसिख सलामले ४ ओभरमा २७ रन दिएर ३ विकेट लिए । जोश हेजलवूड र भुवनेश्वर कुमारले २-२ तथा क्रुनाल पान्ड्याले १ विकेट लिए ।
यसअघि पहिलो क्वालिफायरमा पनि बेंगलुरुले गुजरातलाई पराजित गरेको थियो । लिग चरणमा पनि बेंगलुरु शीर्षस्थानमा रहेर फिनिस गरेको थियो ।
बेंगलुरुले गत संस्करणको फाइनलमा पन्जाब किङ्सलाई हराउँदै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो ।
आईपीएलमा लगातार दुई उपाधि जित्ने बेंगलुरु तेस्रो टोली हो । यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए ।
आईपीएलको सर्वााधिक उपाधि जित्नेमा पनि चेन्नई र मुम्बई अगाडि छन् । दुवैले ५-५ पटक उपाधि जितेका छन् । कोलकाता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १-१ उपाधि जितेका छन् ।


