काठमाडौं । मलेसियामा जारी एसियन गेम्स छनोटअन्तर्गत महिला क्रिकेटको दोस्रो खेलमा जितका लागि इन्डोनेसियाले नेपाललाई एक सय १४ रनको मध्यम लक्ष्य दिएको छ ।
मलेसियाको वायुमास ओभल मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा भार विकेटको क्षतिमा एक सय १३ रन बनायो ।
इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाउनुभयो । यस्तै निलु केतुत वेसिका रतना देवीले २३ र नि मादे पुत्री सुवानदेवीले १३ रन बनाउनुभयो । नेपालका लागि मनिषा उपाध्यायले दुई तथा रिया शर्माले एक विकेट लिनुभयो ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो । आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।
एसिया छनोटमा नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन् । समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् । समूहका शीर्ष दुई टोली छनोटको सेमिफाइनल पुग्ने छन् ।


