काठमाडौं । नेपाली मौलिक फेसन र संस्कृतिलाई विश्वमञ्चमा चिनाउने उद्देश्यका साथ हङकङमा ‘माउन्टेन्स टु द मेट – च्याप्टर वान’ फेसन शो आयोजना गरिएको छ। हङकङको ‘हाइभ स्टुडियो’ मा हालै आयोजित यस फेसन शोको आयोजना फेसन आर्ट निर्देशक तथा स्टाइलिस्ट सोन्या स्टाइल क्रिएटिभ फेसन टिमले गरेको हो।
यस टिमकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सोन्या गुरुङ हुन्। यो कार्यक्रम हङकङको ‘हाइभ स्टुडियो’ को सहकार्यमा सम्पन्न भएको हो। शो मार्फत नेपाली कपडा तथा परम्परागत गहनाहरूलाई सिर्जनात्मक फेसन कला र दृश्य कथावाचन मार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरिएको थियो।
नेपाली उत्पादनलाई वैश्विक स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप फेसन शोमा अन्तर्राष्ट्रिय मोडलहरूलाई सहभागी गराएर प्रदर्शन गरिएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित नेपाली व्यक्तित्वहरू र फेसन पारखीहरूको उपस्थिति थियो।
सिर्जनात्मक फेसन कोरियोग्राफी र कला–संस्कृतिको संयोजनका लागि परिचित सोन्या गुरुङ विगत लामो समयदेखि फेसन शो, सांस्कृतिक प्रस्तुति र सचेतनामूलक कार्यक्रमहरूमा सक्रिय छिन्। स्थापित वा लोकप्रिय अनुहारहरूभन्दा पनि ओझेलमा परेका वास्तविक प्रतिभाहरूलाई स्थान दिने उनको शैलीलाई हङकङको शीर्ष एलिट समूहले समेत प्रशंसा गरेको छ।
नेपाली संस्कृति र मौलिकतालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने यस शोमा नेपाल पर्यटन बोर्डले ‘पर्यटन प्रवर्द्धन साझेदार’ र नेपाल एयरलाइन्सले ‘एयरलाइन साझेदार’ का रूपमा सहकार्य गरेका थिए। कार्यक्रमले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गराउन थप मद्दत पुर्याएको सोन्या गुरुङले बताइन्। उनले आगामी दिनमा पनि नेपाली फेसन र सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा पुर्याउने कार्यलाई निरन्तरता दिने जानकारी दिइन्।


