एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा आएको आकस्मिक बाढीका कारण महिला र बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम टोलो न्युजका अनुसार बाढीले बघलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हमदर्दका अनुसार बाढीले १०० भन्दा बढी आवासीय घरहरू ध्वस्त बनाएको छ भने हजारौँ एकड कृषि भूमि जलमग्न भएको छ। यस प्राकृतिक विपत्तिले प्रान्तको पहिले नै कमजोर रहेको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको अधिकारीहरूले जनाएका छन्।
यसैगरी, अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बुधबार राति आएको विनाशकारी हावाहुरीका कारण अन्य तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। पछिल्ला केही दिनदेखि अफगानिस्तानका विभिन्न भू–भागमा भारी वर्षा, हावाहुरी र चट्याङसहितको प्रतिकूल मौसम कायम छ।
देशको मौसम विज्ञान विभागले आगामी दिनहरूमा पनि वर्षा जारी रहने पूर्वानुमान गर्दै जोखिमयुक्त क्षेत्रहरूमा थप बाढी आउन सक्ने भन्दै उच्च शतर्कता अपनाउन चेतावनी दिएको छ।


