टेगुसिगाल्पा । उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको पाम बगानमा भएको भीषण सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएपछि देश फेरि सङ्गठित अपराध र गिरोह हिंसाको चपेटामा परेको छ ।
प्रतिद्वन्द्वी सशस्त्र समूहबिच पाम बगान र लागुऔषध तस्करी मार्गको नियन्त्रणलाई लिएर चर्किएको द्वन्द्वबिच भएको यो नरसंहारले होन्डुरसको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । अधिकारीका अनुसार हत्या बुधबार राति रिगोर्स क्षेत्रमा भएको थियो । उक्त क्षेत्र लामो समयदेखि लागुऔषध तस्कर समूह, सशस्त्र गिरोह र भूमि नियन्त्रणको हिंसात्मक सङ्घर्षका कारण तनावग्रस्त मानिन्छ ।
स्थानीय बासिन्दाले रातभरि निरन्तर गोलीबारीको आवाज सुनेको बताएका छन् । होन्डुरसको राष्ट्रिय विधायिकाले देशमा बढ्दो आपराधिक हिंसा नियन्त्रण गर्न कडा सुरक्षा सुधार पारित गरेलगत्तै यो घटना सार्वजनिक भएको हो । नयाँ कानूनी व्यवस्थाअन्तर्गत सेनालाई सार्वजनिक सुरक्षासम्बन्धी कार्यमा प्रत्यक्ष सहभागी गराउने तथा सङ्गठित अपराध नियन्त्रणका लागि नयाँ विशेष एकाइ गठन गर्ने अधिकार दिइएको छ ।
साथै गिरोह र लागुऔषध कार्टेललाई आतङ्कवादी समूहका रूपमा वर्गीकृत गर्ने बाटो पनि खुला गरिएको छ । होन्डुरसका नयाँ कन्जरभेटिभ राष्ट्रपति नास्री असफुराले ल्याटिन अमेरिकामा सङ्गठित अपराधविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएको कडा सुरक्षा अभियानसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिहीबारकै अर्को हिंसात्मक घटनामा ग्वाटेमालाको सीमाक्षेत्र नजिक एक विशेष गिरोहविरोधी टोलीले लागुऔषध तस्करको घरमा छापा मार्ने प्रयास गर्दा भीषण गोली हानाहान भएको थियो । त्यस क्रममा चार सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको अधिकारीले बताएका छन् । स्थानीय प्रहरीका अनुसार घटना स्थलबाट सबै शव अझै निकाल्न नसकिएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।
अगुआन उपत्यकामा मारिएका अधिकांश व्यक्ति पाम बगानमा काम गर्ने किसान रहेको स्थानीय ग्रामीण समूहका एक नेताले बताए । सुरक्षा संवेदनशीलताका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका ती नेताका अनुसार उक्त क्षेत्रका बासिन्दा लामो समयदेखि सशस्त्र समूहको धम्की र त्रासमा बाँचिरहेका छन् । उनले स्थानीय अवस्था वर्णन गर्दै मानिस ‘एउटा आँखा खोलेर र अर्को बन्द गरेर सुत्न बाध्य’ भएको बताए ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका भिडियोमा विशाल पाम बगानभित्र छरिएका र रगतले लतपतिएका शव देखिएका छन् । भिडियोमा कम्तीमा नौ शव खुलेआम खेतभित्र फालिएको अवस्थामा देखाइएको थियो । होन्डुरसका सुरक्षामन्त्री गर्जोन भेलास्केजले पत्रकारसँग कुरा गर्दै घटना स्थलको दृश्यलाई अत्यन्तै भयावह र नरक जस्तै अवस्था भएको संज्ञा दिनुभयो ।
उहाँका अनुसार धेरै व्यक्तिलाई उच्च क्षमताका हतियार, सम्भवतः राइफल र सटगन प्रयोग गरेर हत्या गरिएको देखिन्छ । पछि अभियोजक कार्यालयकी प्रवक्ता युरी मोराले स्थानीय टेलिभिजनसँग कुरा गर्दै अनुसन्धान टोलीले एउटा क्षेत्रमा १३ शव र अर्को क्षेत्रमा थप छ शव फेला पारेको जानकारी दिनुभयो ।
सुरक्षामन्त्री भेलास्केजले बाजो अगुआन क्षेत्र धेरै वर्षदेखि लागुऔषध तस्करी, पाम तेल कारोबार र सशस्त्र समूहको प्रभावका कारण हिंसात्मक द्वन्द्वमा फसेको बताउनुभयो । उहाँका अनुसार घटनाको स्पष्ट कारण अझै नखुले पनि यसको सम्बन्ध आपराधिक सञ्जालसँग जोडिएको देखिन्छ । नजिकैको ट्रजिलो क्षेत्रका प्रहरी प्रमुख कार्लोस रोजासले स्थानीय सञ्चार माध्यमलाई विभिन्न गिरोहले ठूला अफ्रिकी पाम बगान कब्जा गरी अवैधरूपमा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यही बालीबाट प्राप्त आम्दानी प्रयोग गरेर सशस्त्र समूहले हतियार खरिद गर्ने गरेका छन् । यद्यपि स्थानीय किसान सङ्गठनले भने अन्तर्राष्ट्रिय कृषि व्यवसाय कम्पनीलाईसमेत दोष दिएका छन् । ती समूहले बहुराष्ट्रिय कृषि निगमले आपराधिक समूहलाई संरक्षण दिएको र स्थानीय बासिन्दालाई विवादित जमिन पुनः प्राप्त गर्न नदिएको आरोप लगाएका छन् ।
यसबिच एक वरिष्ठ सरकारी अनुसन्धान अधिकारीले नाम नखुलाउने सर्तमा घटनालाई केवल भूमि विवादका रूपमा व्याख्या गर्न नमिल्ने बताए । उनका अनुसार यो नरसंहार प्रत्यक्षरूपमा लागुऔषध तस्करीसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।एएफपी


