काठमाडौं । अध्यादेशबाट संवैधानिक परिषद्सम्बन्धी कानुन संशोधन गरेर प्रधानन्यायाधीशमा गरिएको सिफारिसविरुद्ध दायर रिट दरपीठविरुद्ध निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको छ । तत्कालीन कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले सोमबारै निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गत २२ वैशाखमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको पर्सिपल्ट परिषद्ले चौथो वरीयतामा रहेका तत्कालीन न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । २५ वैशाखमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवाल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्च प्रशासनले रिट दरपीठ गरिदिएको थियो । त्यसपछि उनीहरूले दरपीठविरुद्ध निवेदन दिएका थिए । त्यस निवेदनलाई पनि सर्वोच्च प्रशासनले ‘होल्ड’ गरिदिएको थियो ।
सर्वोच्च अदालत नियमावलीको नियम १० मा अदालत प्रशासनले दर्ताका लागि अस्वीकार गरे इजलासमा निवेदन दिन पाउने व्यवस्था छ । ‘मुख्य रजिस्ट्रार वा रजिस्ट्रारको आदेशमा (दर्ता नगर्ने) चित्त नबुझ्ने व्यक्तिले सात दिनभित्र इजलासमा निवेदन दिन सक्नेछ,’ नियमावलीमा उल्लेख छ । इजलासमा पनि निवेदन पेस नभएपछि निवेदक सिलवालले तत्कालीन कामु प्रधानन्यायाधीश मल्लको सचिवालयमा गुनासो दर्ता गराएका थिए ।
रिट दरपीठविरुद्धको निवेदन अब आगामी सोमबार एक न्यायाधीशको इजलासमा पेस हुनेछ । उक्त इजलासमा निवेदकहरूले यसअघि दर्ता गर्न अस्वीकार गरिएको निर्णय किन बदर हुनुपर्छ भनी बहस गर्नेछन् ।


