काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्र सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने जनाएकी छन् ।
सहकारीपछि सुकुमवासी समस्या समाधानमा पनि सरकार लागिराखेको बताउँदै उनले भनेकी छन्, ‘हाम्रो लक्ष्य अबको केही हप्तामा लालपुर्जा वितरण गर्छौं सुकुमवासीको हकमा ।’
यसअघि वास्तविक सुकुमवासीहरूलाई लालपूर्जा वितरण नगर्दासम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारीसमेत गरेको रास्वपा सांसदहरुको अभिव्यक्ति सार्वजनिक भएको थियो ।
गत वैशाख ३१ गते बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति एवम् रास्वपा सांसद हरि ढकालले सुकुमवासीलाई मासिक १५ हजार वितरणको तयारीबारे जानकारी गराएका थिए ।
सरकारको कदमविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया र व्यवस्थापन नगरी सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जबर्जस्ती विस्थापित नगर्न आदेश दिए पनि डोजर चल्ने क्रम भने रोकिएको छैन ।
रास्वपा सांसद एवम् मन्त्री रावलले सुकुमवासी समाधानका लागि बनाइएका पुराना संरचनाले राम्रो नतिजा दिन नसकेकाले अध्यादेश ल्याएर ‘फरक किसिमले’ काम गरिरहेको जनाएकी छन् । समयानुकूल संरचनाहरु बनाइरहेको र सुकुमवासी समस्या समाधानका लागि काम गरिरहेको उनको जिकिर छ ।
‘पुरानो ढर्राबाट हुँदैन र पुराना जति पनि हाम्रा संरचना थिए, तिनले राम्रो काम गरेन र त्यसले केही पनि रिजल्ट दिन सकेन भनेर हामीले फरक किसिमबाट जानुपर्छ भन्ने हिसाबबाट हामीले अध्यादेश मार्फत् पनि त्यो संरचनामा फेरबदल गर्याछौं । साेही अनुरूप समयानुकूल संरचनाहरु बन्दैछन्,’ उनले भनिन्, ‘हाम्रो लक्ष्य अबको केही हप्तामा सुकुमवासीको हकमा लालपुर्जा वितरण गर्छौं ।’


