बुडापेस्ट । हङ्गेरीको टिस्जा पार्टीका नेता पिटर मग्यारले शनिबार देशको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।
मध्य–दक्षिणपन्थी टिस्जा पार्टीले गत महिना ओर्बानको राष्ट्रवादी–लोकप्रियतावादी फिडेज पार्टीमाथि आश्चर्यजनक जित निकाल्दै संसद्मा दुईतिहाइ बहुमत प्राप्त गरेको थियो । टिस्जा हङ्गेरीको इतिहासमा कुनै पनि अन्य पार्टीको तुलनामा संसद्मा बढी मत र सिट प्राप्त गर्ने दल बनेको छ ।
यसले पूर्वप्रधानमन्त्री ओर्बानका अति दक्षिणपन्थी र अधिनायकवादी भनी आलोचित धेरै नीतिहरू खारेज गर्न नयाँ सरकारलाई सहज बनाउनेछ ।
हङ्गेरीको संसद्मा शपथपछि सांसदहरूलाई सम्बोधन गर्दै मग्यारले आफ्नो पदको प्रयोग शासन गर्न नभई मातृभूमिको सेवा गर्नका लागि गर्ने स्पष्ट पारे ।
‘म यहाँ देशका अरू कुनै नेताभन्दा फरक भएर उभिएको छु,’ उनले भने, ‘लाखौँ हङ्गेरीवासीले परिवर्तनको पक्षमा निर्णय गरेका छन् । म उनीहरूको परिवर्तनको वाहक हुनेछु ।’
जनताले दिएको विश्वास नैतिक दायित्वका साथै एउटा अद्भुत भावना भएको उनले बताए । मग्यारले निर्वाचन अभियानका क्रममा लोकतान्त्रिक संस्थाहरू तथा सरकारी नियन्त्रण र सन्तुलन पुनर्स्थापना गर्ने वाचा गरेका थिए ।
ओर्बानको १६ वर्षे शासनकालमा भ्रष्टाचारले व्यापकता पाएको आरोप लाग्दै आएको थियो ।
मग्यार नेतृत्वको नयाँ सरकारले युरोपेली सङ्घभित्रको राजनीतिक गतिशीलतासमेत परिवर्तन गर्ने अपेक्षा गरिएको छ । पूर्वप्रधानमन्त्री ओर्बानले छिमेकी युक्रेनको समर्थनबारे महत्त्वपूर्ण निर्णयहरूमा बारम्बार ‘भिटो’ प्रयोग गरेर युरोपेली सङ्घको एकतामा व्यवधान खडा गर्दै आएका थिए ।
पिटर मग्यार हङ्गेरीका वर्तमान प्रधानमन्त्री तथा मध्य-दक्षिणपन्थी टिस्जा पार्टीका अध्यक्ष हुन् । सन् १९८१ मार्च १६ मा बुडापेस्टमा जन्मिएका उनी पेसाले वकिल हुन् ।
सन् २०२६ मे महिनामा भएको संसदीय निर्वाचनमा पूर्वप्रधानमन्त्री भिक्टर ओर्बानको १६ वर्षे शासनको अन्त्य गर्दै उनी हङ्गेरीको राजनीतिमा नयाँ शक्तिका रूपमा उदाएका हुन् ।
कुनै समय मग्यार पूर्वप्रधानमन्त्री भिक्टर ओर्बानकै राष्ट्रवादी फिडेज पार्टी नजिक थिए भने राज्यका विभिन्न निकायमा कार्यरत कर्मचारी पनि थिए । उनी हङ्गेरीकी पूर्वकानुनमन्त्री जुडित वर्गाका पूर्वपति पनि हुन् ।
सन् २०२४ को फेब्रुअरीमा एउटा ठुलो राजनीतिक काण्ड (राष्ट्रपति क्याटलिन नोभाक जोडिएको माफी प्रकरण) पछि मग्यारले सरकार र पार्टीभित्रको संस्थागत भ्रष्टाचारको कडा आलोचना गर्दै सबै सरकारी पद र फिडेज पार्टी छाडेका थिए ।
फिडेज छाडेको केही समयमै उनले टिस्जा पार्टीको नेतृत्व सम्हाले । करिब दुई वर्षको छोटो अवधिमै उनले युवा, सहरी मतदाता र ओर्बानको नीतिबाट असन्तुष्ट रूढिवादी मतदाताहरूलाई गोलबद्ध गर्दै सन् २०२६ को चुनावमा दुईतिहाइ बहुमतसहित ऐतिहासिक जित हासिल गरे ।
उनको प्रमुख राजनीतिक एजेन्डा ओर्बानको शासनकालमा फस्टाएको चरम भ्रष्टाचार र आसेपासे पोस्ने प्रवृत्तिलाई निर्मूल पार्नु हो । यसका लागि उनले राज्यको ढुकुटीको दोहन अनुसन्धान गर्न विशेष निकाय बनाउने घोषणा गरेका छन् ।
ओर्बान सरकारका कारण युरोपेली सङ्घ (ईयू) सँग बिग्रिएको सम्बन्धलाई सुधार गर्दै हङ्गेरीमा लोकतान्त्रिक संस्थाहरूको सन्तुलन कायम गर्ने उनको वाचा छ ।
उनी युरोपेली सङ्घ र प्रजातान्त्रिक मूल्यमान्यताको पक्षमा वकालत गर्छन् तर आप्रवासी नीतिलगायतका कतिपय विषयमा भने उनी अनुदारवादी र परम्परावादी सोच राख्छन् ।
उनले सन् २०१० देखि एकछत्र शासन गरिरहेका ओर्बानको शक्तिलाई भत्काएर हङ्गेरीलाई युरोपेली लोकतान्त्रिक धारमा फर्काउने वाचा गरेका छन् ।


