काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्वमा उल्लेख्य वृद्धि भएको छ।
बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको कुल सम्पत्ति ३४ खर्ब ७२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।
गत असार मसान्तसम्म यस्तो सम्पत्ति २६ खर्ब ७१ अर्ब २३ करोड रुपैयाँ मात्र रहेको थियो।
बैंकको वैदेशिक मुद्रा सम्पत्तिमा पनि ठूलो सुधार देखिएको छ। असार मसान्तमा २५ खर्ब ६७ अर्ब ३२ करोड रहेको कुल वैदेशिक मुद्रा सम्पत्ति चैत मसान्तसम्म आइपुग्दा ३३ खर्ब ६७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
यस अन्तर्गत विदेशी सुरक्षण (Foreign Securities) मा मात्रै २२ खर्ब ७६ अर्ब ११ करोड रुपैयाँ लगानी रहेको देखिन्छ, जुन असारमा १६ खर्ब ६८ अर्ब २७ करोड रुपैयाँ थियो।
यस्तै, सुन प्रमाणपत्र (Gold Certificates) मा पनि लगानी बढेर २ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।
बजारमा चलिरहेको नोटको मात्रामा पनि वृद्धि भएको छ। असार मसान्तमा ७ खर्ब ५० अर्ब ११ करोड रहेको यस्तो मुद्रा चैत मसान्तसम्ममा ७ खर्ब ६९ अर्ब २० करोड रुपैयाँ पुगेको छ।
यस्तै, सरकारको निक्षेपमा उल्लेख्य वृद्धि भई ३ खर्ब ९३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन असार मसान्तमा ७० अर्ब ८३ करोड रुपैयाँ मात्र थियो।
बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राखेको निक्षेप भने केही घटेको छ। असार मसान्तमा ३ खर्ब ८८ अर्ब ६३ करोड रहेको यस्तो निक्षेप चैत मसान्तमा ३ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ कायम भएको छ।
यता बैंकको कुल जगेडा कोषमा भने निकै राम्रो सुधार आएको छ। असारमा ६ खर्ब ७१ अर्ब २ करोड रहेको जगेडा कोष बढेर ९ खर्ब ६८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकसँग रहेको सुन तथा चाँदीको सम्पत्ति भने स्थिर देखिएको छ। चैत मसान्तसम्म बैंकसँग ५५ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ बराबरको सुन तथा चाँदीको मौज्दात रहेको छ, जुन असार मसान्तको तुलनामा परिवर्तन भएको छैन।


