काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १७ गतेका लागि आह्वान गरिएको संसद् अधिवेशन स्थगन गरेका छन् ।
सरकारको सिफारिसकै आधारमा बैठक स्थगन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक स्थगन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सोही आधारमा अधिवेशन स्थगन गरिएको हो ।
यससअघि वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
बैठक स्थगन सम्बन्धी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/०८ गतेको सिफारिसमा संवत् २०८३ साल वैशाख १७ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद भवन, सिहंदरबारमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नु भएकोमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/०१/१० गतेको सिफारिस बमोजिम विशेष कारणवश संघीय संसदको दुवै सदनको उक्त अधिवेशन आह्वान हाललाई स्थगित गर्नुभएको छ।’


