काठमाडाैं । देशभर बुधबारदेखि दोस्रो आर्थिक गणना हुँदैछ। तथ्यांक संकलनको काम असारको पहिलो साताभित्र सम्पन्न हुने भएकाे छ। गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।
अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक संकलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ। गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिने छ।
त्यसक्रममा देशभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ।
आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन्। चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन्। ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछन्।
यस भन्दा पहिले २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो। गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवम् व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो।


