काठमाडौं । माल्दिभ्समा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र श्रीलंकाबीचको खेल मालेस्थित नेसनल फुटबल स्टेडियममा हुनेछ ।
खेल नेपाली समय अनुसार अपरान्ह साढे ४ बजे सुरु हुनेछ । पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउने लक्ष्यमा छ । यसअघि प्रतियोगिताको उद्घाटन खेलमै नेपालले भुटानलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ ।
यही समूहमा श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ३-२ ले पराजित गरेको थियो । पहिलो हाफमा दुई गोल बेहोरेपनि श्रीलंकाले सानदार कमब्याक गर्दै दोस्रो हाफमा तीन गोल फर्काएर खेल जितेको हो । आजै राति सवा ९ बजे भुटान र माल्दिभ्सबीच खेल हुँदैछ । दुवै टोली पहिलो जितको लक्ष्यमा छन् ।
दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको साफ यू-२० च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । समूह बी मा पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई २-० ले पराजित गरेको थियो । यस समूहमा साविक विजेता भारत पनि छ ।


