एजेन्सी । तारिक रहमान बंगलादेशको प्रधानमन्त्री बनेपश्चात बुधबार बेलुका पहिलोपटक राष्ट्रलाई सम्बोधन गरेका छन्।
उनको भाषण बंगलादेशको सरकारी टेलिभिजन च्यानल, बीटीभी र बंगलादेश बेतारमा स्थानीय समयअनुसार राति ९:४५ बजे प्रत्यक्ष प्रसारण गरिएको थियो। बीबीसी बंगला सेवाका अनुसार, प्रधानमन्त्री तारिक रहमानले रमजानको समयमा जनताका लागि वस्तुको मूल्य उचित राख्न व्यापारीहरूलाई निर्देशन दिनु भएकाे छ । यस्तै उनले देशमा कानुनी व्यवस्था सुधार गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नेमा पनि जोड दिए। उनले भने, ‘फासीवादी युगबाट भ्रष्टाचार र कुशासनका कारण अस्थिर अर्थतन्त्र, कमजोर शासन र बिग्रँदै गएको कानुन व्यवस्थाको बिचमा नयाँ सरकारले आफ्नो यात्रा सुरु गरेको छ।
हाम्रो सरकारको मुख्य प्राथमिकता कानुनी व्यवस्था सुधार गरेर र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरेर जनतामा शान्ति र सुरक्षा पुनर्स्थापित गर्नु हो।’
प्रधानमन्त्री तारिक रहमानले बंगलादेशमा सबै गिरोहलाई हटाउनुपर्नेमा पनि जोड दिए। उनले भने, ‘हामीले हजारौँ जीवनको मूल्यमा माफिया गिरोहहरूलाई हटाएका छौँ र राष्ट्र, सरकार र जनताको अधिकार स्थापित गर्ने प्रतिबद्धताका साथ देश चलाउने जिम्मेवारी लिएका छौँ।’ तारिक रहमानले थपे, ‘बीएनपी सरकार सबै क्षेत्रमा अराजकता र अनियमितताका सबै गिरोहहरूलाई हटाउन दृढ छ।’


