-ईश्वरी सिंह
आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे ! कसरी भयो त यस्को सुरुवात भन्ने विषयमा एउटा रोचक कथा यस्तो छ ।आजको दिनलाई भ्यालेन्टाइन डेको नाममा विश्वभर विशेष पर्वको रुपमा उत्साहका साथ मनाउने गरिन्छ ।
वास्तवमा आजको दिन पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित रहेको छ । रोमन सम्राट क्लाउडियस द्धितियले युवाहरु प्रेम र विवाहतिर लागे भने सैनिक सेवा प्रभावित हुन्छन् भन्दै प्रतिबन्ध लगाएका थिए । भ्यालेन्टाइन नाम गरेका व्यक्तिले सम्राटको नियमको बिरोध गर्दै युवायुवतिहरुको सामुहिक बिवाह गर्ने कार्य गरेको हुनाले उनलाई आजकै दिन मृत्युदण्डको सजाय दिईएको थियो । त्यसै दिनदेखि आजको दिनलाई प्रेम दिवसको रुपमा मनाउन थालिएको हो ।
फेब्रुअरी महिनाको ७ देखि १४ सम्म मनाउने यस पर्व हरेक दिन विशेष रहेको छ।
तारेख ७-रोज डे, ८-प्रोपोज डे, ९- चकलेट डे , १०-टेडी डे, ११-अंकमाल डे, १- प्रोमिश डे, १३-चुम्बन डे,१४- भ्यालेन्टाइन डे को रुपमा मनाउने चलन छ ।
के हो त प्रेम ?
प्रेम शब्द आफैमा महान शब्द हो ।शब्द अढाई अक्षरको मात्र छ तर हाम्रो जीवन बितेर गए पनि यस्को गहिराई बुझ्न कठिन छ ।
यो अमुल्य शब्द, जस्लाई देख्न,नाप्न र तोक्न सकिदैन । आज विश्वभर प्रेम साटासाट गर्ने दिन हो, तर वास्तवमा भन्ने हो भने प्रेम भाव भएको व्यक्तिकोलागि प्रेम गर्न कुनै दिन र समय आउनु पर्दैन । उ हमेशा प्रेममय भएर नै बाँचेको हुन्छ । वास्तवमा प्रेम त कहाँ,कसरी,कोसँग,कहिले,किन हुन्छ भन्ने कुरोको अत्तोपत्तो नै हुदैन । प्रेमले जातपात,रुपरगँ,उमेर,बिवाहित,अबिवाहित,धन सम्पत्ति केही हेर्दैन ।
प्रकृतिले दिएको सबै भन्दा अमुल्य प्रसाद नै प्रेम हो । जस्ले एक अर्काको राम्रो नराम्रो हरेक पक्षलाई स्विकार गरेको हुन्छ । जस्ले एकअर्काको हरेक परिस्थितिलाई स्विकार गरेको हुन्छ । जीवनमा जस्तोसुकै परिस्थिति आए पनि एउटा बलियो खम्बाको रुपमा सँगै उभिने प्रेम पाउनु भनेको जीवनको सार्थकता नै हो ।
सच्चा प्रेम गर्नेले त एक अर्काको अवस्थालाई बुझेर उस्को इच्छा,चाहना,लक्ष्य विचारको सम्मान गर्दछ । प्रेम गर्ने व्यक्तिलाई पाउन नसकिएला तर उस्को हरेक सुख दुखमा साथ दिनु नै सच्चा प्रेम हो ।
सच्चा र निश्चल प्रेमले टाढा होस् वा नजिक तिमी जहाँ भए पनि खुशि बस भन्छ । जस्तोसुकै परिस्थितिमा प्रेम गर्ने ब्यक्तिले दिएको हौशला,हिम्मत र साथलले मान्छेलाई बलियो बनाउँछ । फुल,चकलेट,पुतली र महंगा उपहारसँग प्रेम हुने होइन आफूले प्रेम गरेको व्यक्तिको साथ र इमान्दारिता नै सबै भन्दा ठूलो उपहार हो ।
प्रेम गरेको व्यक्तिको साथ बलियो भयो भने संसारले साथ छोडे पनि फरक पर्दैन । तर उक्त व्यक्तिले साथ छोड्यो भने संसार भरिको साथ पाए पनि अधुरो र अपुरो नै हुन्छ । संसार नै अन्धकार लाग्न थाल्छ । त्यसैले यदि कोहि व्यक्तिसँग आफ्नो भाव मिल्छ भने त्यो आकर्षण हो वा प्रेम ? त्यसलाई निर्क्यौल गरेर मात्र अगाडि बढ्न सकियो भने जीवन सुखमय हुन जान्छ ।
प्रेममा बिकृति
प्रेमलाई पेशाको रुपमा अपनाउनेहरुले यस शब्दको मर्म र भावलाई छिया छिया पारिदिएका छन् । उहिलको समयमा प्रेम भावको माध्यमबाट हुन्थ्यो भने आजकल प्रेम फेशनको रुपमा गर्न थालिएको छ । रुपवान र धनवान छ भने उसैसँग प्रेम गर्ने होडबाजी चलेको छ ।प्रेम गरिने कुरो होईन,यो त अचानक अन्जान व्यक्तिसँग हुने भावनात्मक सामिप्यता हो । आजकलको प्रेम तन मनदेखि नभई नेम,फेम र सम्पत्तिसँग आफ्नो आवश्यक्ता परिपूर्तिकोलागि मात्र गर्न थालेका छन् ।
आफ्नो शारिरीक प्यास मेटाउनकोलागि एकछिन भेट्न नपाउँदै म तिमिलाई माया गर्छु भन्ने । सामाजिक संजालमा कुरा गर्न पाएको छैन म तिमिलाई मन पराउँछु भन्ने प्रबृति प्रेम हैन बिकृति हो । प्रेम भन्न जति सजिलो छ त्यसलाई व्यवहारमा निर्वाह र्गनु चानचुने कुरा होईन ।
हालको अवस्था हेर्ने हो भने स्वार्थ लुट्ने अनि जीवनको यात्रामा बिचलित पारेर छोडेर हिँड्ने,आकर्षण र यौन सम्बन्ध कायम गर्नकोलागि मात्र प्रेम शब्दको प्रयोग गरेको पाईन्छ ।आफूले प्रेम गरेको व्यक्तिलाई मानसिक,सामाजिक,आर्थिक,शारिरीक लगायत विभिन्न किसिमबाट बलियो साथको आवश्यक्ता हुने गर्दछ । तर यहाँ साथ खोज्दा स्वार्थीको उपनाम खेप्नु पर्ने अवस्था पनि सिर्जना हुने गर्दछ ।
ल अब तपाइँहरु आफै सोच्नुस् निस्वार्थ प्रेम एउटालाई गर्ने अनि आवश्यकता पर्दा अरुको साथ खोज्नु पर्ने अवस्था आयो भने त्यस्तो प्रेमलाई कस्तो खालको प्रेम भन्ने ? जस्ले पनि चाहन्छ मेरो प्रेमी वा प्रमिका मेरो मात्र भएर रहोस् ।
यस्तो चाहना राख्नेले त व्यवहारिक रुपमा आफ्नो कर्तव्यहरु पनि निर्वाह गर्न सक्नु पर्दछ, होईन र ?
महिला होस् वा पुरुष दुवैले प्रेम शब्दलाई बदनाम गरेर बिकिृति फैलाउँदै आएका पाईन्छन् हालका दिनहरुमा । मन मिले सम्म सबै कुरा मिल्ने अनि सानो कुरामा बिबाद भयो भने एकअर्कालाई तथानाम आरोप लगाउने,बदनाम गर्ने अवस्थाहरु सिर्जना हुन थालेको देखिन्छ ।
घरमा श्रीमान् र श्रीमति हुनेहरुलाई पनि प्रेमले आकर्षण हुन सक्छ । किनकि प्रेम र विवाह फरक कुरा हुन् । विवाह भएको व्यक्तिसँग प्रेम नहुन पनि सक्छ, तर समाज र परिवारको नीति र नियम बिरुद्ध त हिँड्न मिल्दैन नि !
यदि बिबाहित व्यक्तिबीच प्रेम भयो भने एकअर्काको जीवनमा खलल पुर्याउने काम कदापि गर्नु हुँदैन । त्यसलाई प्रेम होईन स्वार्थिय सम्बन्ध भनिन्छ । निष्कर्षमा जाउँ-प्रेम स्वतन्त्र छ भने विवाह एउटा बन्धन हो ।


