टोखा । आसन्न फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई निर्णायक राष्ट्रिय लडाइँको रूपमा चित्रण गर्दै नेकपा (एमाले) टोखा नगरपालिका वडा नं. २ र ३ ले संयुक्त रूपमा निर्वाचन परिचालन समिति घोषणा गरेको छ।
बालप्रेमी खेलकुद मण्डलको कवर्ड हलमा सम्पन्न कार्यक्रम एमालेको शक्ति प्रदर्शन र सङ्गठनात्मक एकताको स्पष्ट सन्देश बनेको छ। सूर्य ध्वजावाहक उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउने लक्ष्यसहित गठित निर्वाचन परिचालन समितिले टोखामा चुनावी अभियानलाई तीव्र बनाउने उद्घोष गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार इश्वर पोखरेलले फागुन २१ को निर्वाचनलाई सामान्य चुनाव होइन, राष्ट्रको अस्तित्व र स्वाधीनताको फैसला गर्ने जनमत सङ्ग्रहको रूपमा परिभाषित गर्नुभयो।
“यो चुनावमा एमाले हार्यो भने देश अस्थिरता, विदेशी चलखेल र दलालहरूको कठपुतली बन्नेछ,” उहाँले चेतावनी दिनुभयो।
उहाँले भूमिगत संघर्षका कठिन दिनमा टोखावासीले पार्टीका नेता–कार्यकर्तालाई संरक्षण, आश्रय र जीवन जोगाउने ऐतिहासिक भूमिका खेलेको स्मरण गर्दै भन्नुभयो,
“टोखावासीको त्यो साहस र त्याग मेरो जीवनको ऋण हो, त्यो ऋण तिर्नकै लागि म टोखाबाट मैदानमा उत्रिएको हुँ।”
पोखरेलले टोखाको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र धार्मिक पहिचानमाथि भइरहेको अतिक्रमण र बेवास्ताविरुद्ध कडा चेतावनी दिँदै आफ्नो उम्मेदवारी टोखाको मौलिकता र सभ्यता जोगाउने राजनीतिक प्रतिरोध भएको घोषणा गर्नुभयो।
उहाँले देशको अस्तित्व, स्वाभिमान, सार्वभौमसत्ता र स्वाधीनतामाथि आँखा लगाउने आन्तरिक तथा बाह्य शक्तिहरूविरुद्ध एमाले एकमात्र भरोसायोग्य शक्ति भएको दाबी गर्नुभयो।
“एमालेले जनताको पक्षमा गरेका विकास र राष्ट्रनिर्माणका काम देख्न नसक्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्वहरूले षड्यन्त्र, आगजनी र अराजकतामार्फत देशलाई अस्थिर बनाउने प्रयास गरे,” उहाँले आरोप लगाउनुभयो।
पोखरेलले विगत ३५ वर्षदेखि क्षेत्र नं. ५ का जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै यो चुनाव व्यक्तिगत जित–हारको विषय नभई राष्ट्र जोगाउने वा सुम्पिने बीचको संघर्ष भएको स्पष्ट पार्नुभयो।
अन्त्यमा उहाँले फागुन २१ गते जनतालाई डर, भ्रम र दलालीको राजनीतिलाई पराजित गर्दै “जनताको मनमनमा रहेको सूर्यलाई मतपेटिकाबाट प्रकट गर्न” निर्णायक अपिल गर्नुभयो। प्रशान्त डंगाेल


