काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस आफूलाई बदलेर अघि बढेको जनाएका छन्।
बिहीबार काठमाडौंमा भएको एक पार्टी भेलामा उनले कांग्रेस बदलिएर अघि बढेको र कांग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको नयाँ सन्दर्भको प्रतिनिधि भएको जनाए।
एमाले र रास्वपालक्षित टिप्पणी गर्दै उनले कतिपयले भदौ २३ र कतिपयले भदौ २४ को प्रधानमन्त्रीको कुरा गरिरहेको तर कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला भएको पनि जनाए। भदौ २३ र २४ गतेको घटनामा एमाले र रास्वपाबीच आरोपप्रतिआरोप चलिरहेको छ।
माघ १ गते कांग्रेसले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएको थियो। त्यसैलक्षित टिप्पणी गर्दै शर्माले आफू बदलिएर नयाँ ढंगबाट अगाडि बढेको जनाए। ‘प्रधानमन्त्रीका उम्मेदवारहरु थुप्रै हुनुहुन्छ। कोही भदौ २३ कोही भदौ २४ वाला हुनुहुन्छ।
नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो’, उनले भने ‘सारा विषयलाई डकुमेण्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढंगले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टी भित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको कांग्रेस र कांग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि हो।’


