काठमाडौं । नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध ५–१ को फराकिलो जित निकालेको छ ।
यो जितसँगै नेपाल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ । नेपालले पाँच खेलमा दुई जित, एक बराबरी र दुई हारसँगै सात अंक बनाएको छ ।
माघ ७ गते नेपाललाई च्याम्पियनसिपअन्तर्गत थाइल्यान्डको नोन्थाबुरी रंगशालामा सम्पन्न खेलमा जित दिलाउन मनिषा थापामगरले दुई गोल गरिन् ।
टोलीका कप्तान दीपा राई, जेनिफर राना र रोशनी बोहरा क्षेत्रीले समान एक गोल गरिन् । जवाफमा पाकिस्तानकी उझ्वा चौधरीले एक गोल फर्काइन् ।
जितका बाबजुद पनि नेपाल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । पराजित पाकिस्तान भने समान सात अंक बनाए पनि गोल अन्तरको आधारमा चौथो स्थानमा झरेको छ ।


