काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गर्दै शनिबार ग्रिनल्यान्डमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । कठ्याङ्ग्रिने हिउँ र बरफबीच राजधानी नुकका बासिन्दाहरूले विरोधका प्लेकार्ड बोकी, राष्ट्रिय झण्डा फहराउँदै र ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाउँदै आफ्नै स्वशासन र सार्वभौमिकताको समर्थन जनाए ।
“मलाई लागेको थियो आजको दिन यसभन्दा खराब हुन सक्दैन, तर झन् भयो”, स्थानीय युवा मलिक डोलेरुप शेबेलले भने । उनले राष्ट्रपति ट्रम्पको पछिल्लो कदमले अरू राष्ट्र र जनताप्रति कुनै संवेदनशीलता नदेखाएको स्पष्ट भएको बताए ।
यस महिनाको सुरुमा भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई हटाउने सैन्य कारबाहीपछिका अभिव्यक्तिले उनको अडान अझ कडा बनेको स्थानीय नेताहरूको भनाइ छ ।
एक्काइस वर्षीय डोलेरुप–शेबेल र प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनका अनुसार यो प्रदर्शन नुकको जनसङ्ख्याको करिब एक चौथाइ सहभागी भएको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन हो । यस्तै समर्थन स्वरूप डेनमार्कका विभिन्न सहरहरू, कोपनहेगन तथा क्यानाडाको इनुइट–शासित क्षेत्र नुनाभुटको राजधानीमा समेत ऐक्यबद्धता र्यालीहरू आयोजना गरिएका थिए ।
कोपनहेगनमा सहभागी एलिस रिचीमहिलाले ‘यो केवल ग्रिनल्यान्डको होइन, सम्पूर्ण विश्वको विषय हो’ भन्दै कुनै पनि सानो राष्ट्र बिक्रीका लागि नहुने स्पष्ट सन्देश दिए । नुकमा आयोजित प्रदर्शनमा सबै उमेर समूहका नागरिक सहभागी थिए ।
परम्परागत गीत सङ्गीतसहितको पदयात्रामा ४७ वर्षीया मेरी पेडरसन आफ्ना सन्तानसहित सहभागी भएका थिए । “हामी हाम्रो देश, संस्कृति र परिवार सुरक्षित राख्न चाहन्छौँ”, उनले भने । उनकी नौ वर्षीया छोरी अलास्काले आफैँले बनाएको ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ लेखिएको प्लेकार्ड बोकेकी थिइन् ।
नुकका प्रहरी अधिकारी टम ओल्सेनले शनिबारको प्रदर्शन आफूले देखेको सबैभन्दा ठूलो भएको जानकारी दिए । “यसले युरोप एकताबद्ध छ भन्ने सन्देश दिन सकोस् भन्ने हाम्रो चाहना हो”, उनले भने ।
ग्रिनल्याण्डको संसद्की पूर्वसदस्य टिली मार्टिनसनले ट्रम्प प्रशासनले ग्रिनल्यान्ड अधिग्रहणको ‘अविवेकी विचार’ त्याग्ने आशा व्यक्त गरे । उनले मित्रता र सहयोगको नाममा सुरु भएका अभिव्यक्तिहरू अहिले खुला धम्कीमा परिणत भएको टिप्पणी गरे । उनका अनुसार सम्भावित आर्थिक दबाबभन्दा नाटो र ग्रिनल्यान्डको स्वायत्तता संरक्षण बढी महत्त्वपूर्ण छ ।
चालिस वर्षीया नर्स लुइस लेनर्ट ओल्सेनले राष्ट्रपति ट्रम्पभन्दा पनि अमेरिकी जनतालाई सन्देश दिन चाहेको बताए । “हामी अहिले जस्तो ग्रिनल्यान्ड रहन चाहन्छौँ भन्ने हाम्रो इच्छालाई उनीहरूले समर्थन गरून्”, उनले भने, “मलाई आशा छ, उनीहरू आफ्नै राष्ट्रपतिको गलत कदमविरुद्ध उभिनेछन् ।”


