एजेन्सी । अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुएला सरकारले कडा दमन थालेको छ।
मादुरोलाई हटाएकोमा समर्थन जनाउनेहरूलाई रोक्न पत्रकारहरू पक्राउ गर्ने र अर्धसैनिक बल परिचालन गर्ने कार्य भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी कमान्डो टोलीले एक सैन्य आधार शिविरबाट मादुरोलाई नाटकीय रूपमा नियन्त्रणमा लिएर मुद्दा चलाउन अमेरिका लगेपछि उनका पूर्व उपप्रमुख एवम् देशकी नयाँ नेत्री डेल्सी रोड्रिगेजले तेलमा धनी राष्ट्रमा आफ्नो पकड बलियो बनाउन खोजेकी छन्। सोमबार घोषणा गरिएको संकटकालअन्तर्गत काराकासका सडकहरूमा सशस्त्र अर्धसैनिकहरू परिचालन गरिएका छन्।
संकटकालले अमेरिकी कारबाहीको समर्थन गर्न प्रतिबन्ध लगाएको छ। मिडियासँग सम्बन्ध संघसंस्थाहरूका अनुसार विदेशी सञ्चारमाध्यमका ११ जनासहित १४ जना पत्रकारहरूलाई केही घण्टा हिरासतमा लिएर छाडिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको हितमा काम गर्ने विश्वास व्यक्त गरेकी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिका रूपमा शपथ लिइरहँदा अधिकांश पत्रकारहरूलाई नेसनल एसेम्बली भवन वरपरबाट पक्राउ गरिएको थियो। शनिबार अमेरिकी कमान्डोहरूले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएपछि बाँकी रहेको शासन संयन्त्रले जनतालाई खुसीयाली मनाउनबाट रोक्न खोजिरहेको छ। सोमबार सार्वजनिक गरिएको राजपत्रअनुसार गणतन्त्रको भूमिविरुद्ध अमेरिकी सशस्त्र आक्रमणलाई समर्थन गर्ने वा उक्साउने जोसुकैलाई तत्काल खोजी गरी पक्राउ गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ। काराकासका एक मानवअधिकारवादीका अनुसार सोमबार दमन थप बढेको छ।
अधिकारीहरूले सर्वसाधारणको फोनमा समेत निगरानी गररी अमेरिकी कदमको समर्थन गरेको पाइएमा पक्राउ गर्ने गरिरहेका छन्। विपक्षी नेत्री मारिया कोरिना माछाडोले फक्स न्युजसँगको अन्तरवार्तामा यो दमनलाई अत्यन्तै चिन्ताजनक भनेकी छन्। उनका अनुसार डेल्सी रोड्रिगेज यातना उत्पीडन र लागूऔषध तस्करीकी मुख्य योजनाकार हुन्। उनले भनिन्, ‘डेल्सी रुस, चीन र इरानको मुख्य सहयोगी भएकाले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले उनलाई विश्वास गर्न सक्दैनन्।’ रोड्रिगेजको शपथलगत्तै रुस, चीन र इरानका राजदूतहरूले उनलाई बधाई दिएका भिडियोहरू सार्वजनिक भएका छन्।
विपक्षीहरूको गढ मानिने पूर्वी काराकासका सडकहरू सुनसान छन्। सशस्त्र सुरक्षा बलको डरले मानिसहरू बाहिर निस्किएका छैनन्। चाकाओ क्षेत्रमा भेटिएकी एक महिलाले भनिन्, ‘हामी खुसीयाली मनाउन सक्दैनौँ। मनायौँ भने यी सशस्त्र समूहले हामीलाई मार्न सक्छन्।’ मादुरो पक्षका एक लडाकुले मादुरोको गिरफ्तारी आफ्नै समूहभित्रको कसैको गद्दारीका कारण भएको बताए। उनले भने, ‘हामी हाम्रा राइफलसहित सक्रिय छौँ र आवश्यक परे जवाफ दिनेछौँ।’


