काठमाडौं । भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसँग बयान लिएको छ ।
गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगले सोमबार सिग्देललगायत सैन्य अधिकारीसँग बयान लिएको आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन् ।
भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा धेरै घाइते भएका थिए । यसक्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी भवनहरू मात्र नभएर पार्टीका केन्द्रीय कार्यालय, नेताहरूका निजी निवास तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी तथा लुटपाट भएको थियो । त्यसक्रममा ८४ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारी अध्ययनले जनाएको छ ।
आयोगले सेनासँग बयानल लिएसँगै अब उसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग मात्र बयान लिन बाँकी रहेको छ । एमाले अध्यक्ष ओलीले आयोगमा बयान दिन इन्कार गरिरहेका छन् । लेखक भने बयान दिन सकारात्मक रहेको खबर प्राप्त भएकाे छ ।


