काठमाडौ । नेकपा एमाले बागमती प्रदेशको अधिकांश जिल्लामा महाधिवेशन प्रतिनिधि चयनको सकस देखिएको छ ।
तर सर्वसम्मतिबाटै टुंग्याउने भनेर निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । ‘केही जिल्लामा सर्वसम्मतिले महाधिवेशन प्रतिनिधि चयन गरिसकेका छौ । कतिपय जिल्लामा निर्वाचन भइरहेको छ,’ बागमती प्रदेश उपसचिव भक्तकुमारी लामा भन्छिन्, ‘सकेसम्म आजै प्रतिनिधि टुंग्याउनेगरी सर्वसम्मतिको प्रयत्न भइरहेको छ ।’
‘जिल्ला इन्चार्जहरुले जिम्मेवारी लिनुभएको छ,’ लामा भन्छिन्, ‘सर्वसम्मति नभए भोलि मतदान हुन्छ ।’ सिन्धुपाल्चोकको दुवै क्षेत्र, ललितपुरको तीन वटै निर्वाचन क्षेत्र, मकवानपुर–१ मा भने मतदान भएको छ ।
दोलखा, काभ्रे र रसुवा जिल्लाले भने सर्वसम्मतिबाट प्रतिनिधि छानेको छ । सर्वसम्मति जुटाउँदा बरिष्ठ नेताहरुलाई प्राथमिकता दिएर भागबण्डा गर्ने विधि अपनाइएको देखिन्छ । धेरै प्रतिनिधि रहेको काभ्रेमा भागबण्डा भएको थियो ।
सर्वसम्मति भनेर महाधिवेशन प्रतिनिधि छनोट हुन बाँकी क्षेत्रहरुमा पनि शक्ति–सन्तुलन मिलाउने प्रयास नै देखिन्छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहलाई शक्ति–सन्तुलन मिलाएर प्रतिनिधि चयन गरिरहेका छन् ।
एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गरिरहेको छ । एउटा क्षेत्रमा १२ सय पार्टी सदस्यलाई आधार मानेर त्यसबाट दुई महिला, एक युवा र दुई खुला प्रतिनिधि चयन गरिरहेको छ । त्यसपछि थप ८ सय पार्टी सदस्य बराबर एक सदस्य थपिने, र शेष संख्यामा भने चार सय पुगे अर्को सदस्य आउनेगरी प्रतिनिधि चयन भइरहेको छ ।
प्रतिनिधि सभा क्षेत्रहरुमा प्रतिनिधि चयनको सकस भइरहदा प्रदेश कमिटीबाट भने सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । पदाधिकारीलाई नै प्राथमिकता दिएर प्रतिनिधि चयन गरिएको छ ।
प्रदेश अध्यक्ष कैलाश ढुंगेल, उपाध्यक्ष दावा लामा, सचिव नवराज सिलवाल, उपसचिव भक्तकुमारी लामा र महिला तर्फ गंगादेवी श्रेष्ठ सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
बागमती प्रदेशबाट चयन हुने मजदुर तर्फका प्रतिनिधिहरु पनि सर्वसम्मत भएका छन् । रामहरी नेपाल, अर्जुन अर्याल, गोपाल कार्की, फुलमाया लामा, ठाकुर कुमार श्रेष्ठ, पूर्णकुमारी कार्की र शान्ति थापा कार्की निर्विरोध प्रतिनिधि चुनिएका हुन् ।


