काठमाडौं । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा सम्पन्न भएको छ ।
नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप आर्केष्ट्रा बोल्डरद्वारा संयुक्त रूपमा आयोजित फिल्म अवार्डको ८औं संस्करण कला तथा साहित्य क्षेत्र उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै बोल्डर थियटरमा सम्पन्न भएको हो । समारोहमा पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत चरित्र अभिनेता रामचन्द्र अधिकारीलाई दीर्घसाधना सम्मान प्रदान गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र साहित्यकार पदम विश्वकर्मालाई अभियानश्री अवार्डबाट सम्मान गरिएको थियो । यस्तै, चलचित्र पूर्णबहादुरको सारंगीका नायक विजय बरालले जुरी अवार्ड प्रदान गरिएको थियो । समारोहमा चलचित्र विकास बोर्डलाई गिहिन्द्र धिमाल स्मृति सम्मान र नायिका स्वस्तिमा खड्कालाई रामकेशर बोगटी स्मृति सम्मान प्रदान गरिएको थियो । प्रवासमा बस्नेहरूको लगानीमा निर्मित दुई चलचित्र ‘डोरी’ र ‘कर्मा’लाई एनएफएस सम्मान पुरस्कार (प्रवास) प्रदान गरिएको थियो भने प्रवासमा निर्माण भएको चलचित्र तेल भिसा र निर्देशक शंकर घिमिरेलाई सम्मान गरिएको थियो । त्यस्तै ‘फिल्म अफ दि इयर’ चलचित्र ‘पुजार सार्की’लाई प्रदान गरिएको थियो भने ‘डाईरेक्टर अफ दि इयर’बाट ‘पुजार सार्की’कै निर्देशक दिनेश रावत सम्मानित हुनुभएको थियो ।
‘एक्टर अफ दि इयर’बाट ‘पुजार सार्की’कै प्रदीप खड्का र ‘बोक्सीको घर’बाट केकी अधिकारी सम्मानित हुनुभयो । यसैगरी ‘वेष्ट सर्पोटिङ रोल’को अवार्ड ‘छक्का पञ्जा ५’का केदार घिमिरेले पाउनुभयो । ‘स्टार अफ डिकेड’बाट दिलिप रायमाझी सम्मानित हुनुभयो । ‘नवअभिनेता’ अवार्ड ‘१२ गाँउ’का नायक समिर भट्टले पाउनुभयो भने नायिकातर्फ सो अवार्ड ‘लण्डन टु पेरिस’बाट गरिमा शर्माले पाउनुभयो । समारोहमा ‘उदाउँदो तारा’ अवार्ड नायिका दिव्या रायमाझीलाई प्रदान गरिएको थियो । समारोहको विशिष्ट अतिथिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेता नीर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य साम्रगी बसुन्धरा भुसाल र आङ तेम्वा शेर्पा रहनुभएको थियो । प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र विशेष अतिथि बोल्डर काउन्टी कमिष्नर मार्था लोचमिनलगायतका विशिष्ट व्यक्तित्वले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको समारोहमा नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो ।
प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र विशेष अतिथि बोल्डर काउन्टी कमिष्नर मार्था लोचमिन, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठलगायतले समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याएका पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड समारोह आयोजना गर्दै आएको बताउनुभयो । ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष नवराज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै अवार्ड समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । तीन पुस्ताका कलाकारहरूको अपूर्व जमघट रहेको अवार्ड समारोहमा तीनै पुस्ताका कलाकारले नृत्य, गायन र हास्य प्रस्तुति दिएका थिए । कार्यक्रम सफलतापुर्बक सप्पन्न भएकोमा आयोजक टिम नेपाल तथा अमेरिकालाई बधाई !


