बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सपेङ्गले नोभेम्बर ५ मा सातौं एक्सपेङ्ग टेक्नोलोजी डे कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रममा कम्पनीले आइरन ह्यूमनोइड रोबोटको पछिल्लो संस्करण प्रदर्शन गर्यो । कार्यक्रमको एउटा हाइलाइटमा रोबोट सुस्त चालमा बिरालोजस्तै गरी हिँडेर स्टेजमा गइरहेको देखियो । सामाजिक सञ्जालमा लाइभ रनवे शोका यस्ता केही क्लिप भाइरल भइरहेका छन् । रोबोटभित्र मान्छे छैन भन्ने कुरा देखाउन कम्पनीका अध्यक्ष तथा सीईओ हे सियाओपेङले रोबोटको खुट्टै काट्न लगाएको एउटा भिडियो छ ।
‘संसार यति छिटो छिटो परिवर्तन भइरहेको छ भन्ने नपत्याउने मानिसहरू जहिले पनि हुन्छन्,’ हेले भनेका छन् । मानिसहरूले आफूलाई एउटा दृश्य खिचेर काटछाट नै नगरीकन भिडियो हाल्न बाध्य पारेको हेले पोस्ट गरेका छन् । यो भिडियो हेरेर सबैले सत्य र असत्यबिच भिन्नता छुट्याउन सक्ने र ह्यूमनोइड रोबोटभित्र कुनै मान्छे हुन्न भन्ने कुरा स्पष्ट गर्न आफूलाई मद्दत मिल्ने आशा उनले व्यक्त गरेका छन् ।
भिडियोमा एक्सपेङ मोटर्सका कर्मचारीहरूले कैँचीले रोबोटको बाया पिँडुलालाई बेरेको सेतो ‘छाला’ जस्तो पत्र काटेर निकाल्छन् । यसको भित्रपट्टि फाइबरको तन्किने मांशपेशी छ । यसलाई पनि काटेर झिकेपछि धातुको फ्रेम देखिन्छ । त्यत्ति नै बेला भिडले उत्साहित भएर ताली बजाउँछन् र रोबोट स्टेजबाट बिरालोकै चालमा हिँडेर बाहिर निस्कन्छ । Shivam Cement ‘आशा छ कि आइरन रोबोट साँच्चै आइरन रोबोट नै हो भनेर हामीले प्रमाणित गर्ने यो अन्तिम पटक हुनेछ । आशा छ कि आज राति पछि, धेरै मानिसहरूले बिरालोजस्तै हिँड्न सक्ने रोबोट चिनियाँ कम्पनीले बनाएको हो भनेर विश्वास गर्नेछन्,’ हेले आफ्नो वेइबो खातामा पोस्ट गर्दै भनेका छन् ।


