काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काले बनाएका संरचना भत्काएको छ ।
आज बिहान महानगर प्रहरीको टोली डोजरसहित स्थलमा पुगेर ती संरचनाहरू भत्काएको हो ।
खड्काले नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए । तर, लामो समयदेखि भाडा तिर्नु नपरेको कारण स्काउटले गत २० कात्तिकमा सूचना जारी गर्दै सात दिनभित्र भाडा चुक्ता गर्न चेतावनी दिएको थियो ।
म्याद सकिएपछि स्काउटले आफ्नो जग्गामा बनेका भवन तथा सम्पत्ति जफत गरी भाडा असुल गर्ने निर्णय गरेको थियो । स्काउटले भाडा असुल नभए पूर्वमन्त्री खड्काको अन्य जायजेथा मार्फत असुल गर्ने चेतावनीसमेत दिएको थियो ।
महानगरले स्काउटको अनुरोधपछि कानूनी प्रक्रिया अनुसार कारवाही अघि बढाएको जनाइएको छ । अहिले उक्त क्षेत्र खाली गरी स्काउटको स्वामित्वमा फिर्ता गरिएको छ ।


