काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्य गर्न समझदारी भएको छ । समझदारीअन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरूले भारतबाट नेपालमा भुक्तानी गर्न सक्ने प्रणाली सञ्चालनमा ल्याएको हो । दुवै बैंकले सम्पूर्ण प्रक्रियागत कार्य गरी परीक्षण कारोबार समेत गरिसकेका छन् ।
यसअन्तर्गत महालक्ष्मी विकास बैंकको पहुँच एचडीएफसी बैंकले प्रयोग गर्दै आएको अत्याधुनिक नगद व्यवस्थापन सेवामा रहनेछ । यसमा सीएमएस चेक संकलन र इलेक्ट्रोनिक नगद व्यवस्थापन सेवा समावेश छन् । जसअन्तर्गत कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरू जस्तै नेशनल इलेक्ट्रोनिक फन्ड ट्रान्सफर, रियल टाइमा ग्रस सेटलमेन्ट र फन्ड ट्रान्सफरको प्रयोग गरी भारतको एचडीएफसी बैंकमार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्नेछन् । साथै, भारतमा रहेका अन्य बैंकहरूको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ ।
एचडीएफसी बैंकसँगको सम्झौताले नेपाल–भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउने, सीमा–पार व्यापार तथा रेमिट्यान्समा संलग्न ग्राहकहरूलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा उपलब्ध गराउने विश्वास बैंकले लिएको छ । यो प्रणालीको प्रयोगसँगै बैंकले ग्राहकहरूलाई गर्ने डिजिटल नवप्रवर्तन र सेवा विस्तारको प्रतिबद्धतामा समेत सहयोग पुग्नेछ ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । ‘सबल बैंक, सफल सहकार्य’ नारासहित नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालय र आठ लाख ग्राहक रहेका छन् ।

