काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ संविधानविरोधी भएको जनाएका छन्। आइतबारको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले बैठकमा विधेयक कुन मनशायले ल्याएको हो भन्ने कुरा स्पष्ट नभएको जनाए। सुकुम्बासी समस्या हल गर्न अहिलेकै कानून पर्याप्त रहेको उनको धारणा थियो।
उनले , ‘प्रदेश सभालाई सोधेर यो ऐन ल्याइएको हो त? यदि होइन भने संविधानको उल्लंघन पनि हो। संघीयतामाथिको प्रहार पनि हो। यो घोर आपत्तिजनक छ। यो गलत छ। कुन मनशायले ल्याएको हो त्यो स्पष्ट भएन। असंवैधानिक विधेयक ल्याउन पाइन्छ? के क्षेत्राधिकार मिच्न, अनुसूची मिच्न पाइन्छ? सुकुम्बासी समस्या हल गर्न ल्याएको हो भने अहिलेकै कानून पर्याप्त छ।’ यादवले भूमिहीनको समस्या समाधान गर्न रियलस्टेट र भूमाफियालाई जग्गा दिनुपर्छ? भन्दै प्रश्न गरे।


