खडग पाण्डे
अमेरिकी उपन्यासकार, हास्यकार तथा समाज-समीक्षक मार्क ट्वेन (१८३५–१९१०) भन्छन् ” मानिसलाई झूटो कुरामा विश्वास गराउनु सजिलो हुन्छ, तर त्यही झूटलाई झूट हो भनेर झुटमुक्त गराउनु निकै कठिन हुन्छ”। मार्क ट्वेनको यो भनाइ आजको नेपाली सामाजिक, राजनीतिक र धार्मिक परिवेशमा पनि यथार्थपूर्ण रूपमा लागू हुन्छ। धेरै मानिसहरू भावनामा बहकिएर झूटलाई नै सत्य ठानिरहेका छन्, र त्यही झूटको संरक्षण गर्न ज्यानसम्म दिन तयार छन्।
ईश्वर र धर्म संवेदनशील विषय हुन्। म तपाईंको आस्था र विश्वासप्रति सम्मान प्रकट गर्दछु। यदि तपाईं आस्तिक हुनुहुन्छ र आलोचनात्मक दृष्टिकोणमा असहज महसुस गर्नुहुन्छ, कृपया यो लेख पढ्ने कष्ट नगर्नुहोला।
ईश्वरवादी दृष्टिकोणमा धर्म भनेको ईश्वरले प्रदान गरेको जीवनपथ, नैतिकता, र मोक्ष प्राप्तिको साधन हो। धर्म ईश्वरको इच्छा र आज्ञाको रूपमा लिइन्छ, जुन धार्मिक ग्रन्थहरूद्वारा व्यक्त गरिएको मानिन्छ। धर्मले नैतिकता, पाप–पुण्यको बोध, र मृत्युपछिको अवस्थाबारे मार्गनिर्देशन गर्छ — जस्तै पुनर्जन्म, स्वर्ग–नरक, र मोक्ष। सामाजिक सन्दर्भमा, ईश्वरवादीहरू धर्मलाई शान्ति, अनुशासन र कर्तव्यबोधको आधार मान्छन्।
हिन्दू धर्म अनुसार, धर्मले मानिसलाई धर्म, अर्थ, काम र मोक्ष (चार पुरुषार्थ) को मार्गदर्शन प्रदान गर्छ। ईसाई विश्वासमा धर्म भनेको ईश्वर (God) सँगको व्यक्तिगत सम्बन्ध हो, र यो सम्बन्ध बाइबलमार्फत बुझिन्छ। इस्लाम धर्म अनुसार, धर्म अर्थात् इस्लामलाई अल्लाहको आज्ञा मानिन्छ र कुरानलाई अन्तिम सत्यको रूपमा स्वीकार गरिन्छ।
ईश्वरवादी दृष्टिमा, धर्मको सुरुवात कुनै मानवको आविष्कार होइन, बरु ईश्वरको प्रत्यक्ष इच्छाबाट उत्पन्न भएको एक दैवी व्यवस्था हो, जुन ईश्वर र मानवबीचको सेतुका रूपमा कार्य गर्छ र जीवनको उद्देश्य, नैतिकता तथा मोक्षको मार्ग देखाउँछ। उनीहरूका अनुसार, जब मानव नैतिक रूपमा पतन हुन थाल्यो, त्यतिबेला ईश्वरले धर्मशास्त्रहरूमार्फत मानव जातिलाई सही मार्ग निर्देश गर्न थाले। धर्मको प्रारम्भ ईश्वरका आज्ञा, उपदेश वा सन्देश विशेष व्यक्तिहरू—जस्तै ऋषिहरू, येशू ख्रिस्त वा पैगम्बर मुहम्मद—मार्फत मानवसमक्ष प्रस्तुत गरिएको विश्वास गरिन्छ।
भौतिकवाद अनुसार, धर्मको सुरुवात “डर” र “अज्ञान” को गर्भबाट भएको हो। जब मानवले प्राकृतिक शक्तिहरू- जस्तै आँधी, भूकम्प, बिजुलीको चम्काहट वा गर्जन आदिको कारण बुझ्न सकेन, तब उसले ती घटनाहरूको पछाडि कुनै अदृश्य शक्ति रहेको अनुमान गर्न थाल्यो। “यी घटना किन र कसरी हुन्छन्?” भन्ने प्रश्नको जवाफ थाहा नहुँदा, त्यसको समाधान कल्पनामा खोजियो। यिनै शक्तिहरूलाई अलौकिक शक्ति ठानी, ईश्वरको रूप दिइयो। यस्ता भयावह घटनाहरूलाई नियन्त्रण गर्ने अदृश्य अस्तित्वलाई सर्वशक्तिमान ठानियो, र त्यसैले ईश्वरको कल्पना जन्मियो। अन्ततः, सबै घटना घटाउने, सबै प्रश्नको उत्तर दिने, र सम्पूर्ण ब्रह्माण्डको नियन्त्रकको रूपमा कल्पना गरिएको यस “सर्वशक्तिमान” ईश्वरको को कल्पना नै धर्मको सुरुवात हो।
धर्म समय, समाज र संस्कृतिको परिवर्तनसँगै विकसित हुँदै गएको एक ऐतिहासिक प्रक्रिया हो। यसको उत्पत्ति कुनै एक क्षणमा भएको होइन, बरु पुरातन कथाहरू, जनश्रुति र परम्पराहरूको क्रमिक विकासबाट धर्मको रूप लिएको हो। पछि यिनैले संस्कृति निर्माण गरे। ती कथाहरूलाई धर्मग्रन्थका रूपमा संकलन गरियो, जसबाट पूजा, अनुष्ठान, भजन–कीर्तन, व्रत, संस्कार र नियमहरूको जन्म भयो।
धर्मले व्यक्तिगत जीवन मात्र होइन, सामाजिक संरचनामा पनि ठूलो प्रभाव पारेको छ। भौतिकवादी दृष्टिकोणमा धर्मलाई सामाजिक संरचना कायम राख्न र जनतालाई नियन्त्रण गर्न बनाइएको “सांस्कृतिक औजार” मानिन्छ। जब धार्मिक नियमहरूलाई ईश्वरको आदेशका रूपमा प्रस्तुत गरिन्छ, तब मानिसहरू त्यसको पालनामा स्वतः बाध्य हुन्छन्। उदाहरणका लागि, वर्ण व्यवस्था, महिलाका अधिकारमाथिको सीमांकन, र राजा–प्रजाबीचको सम्बन्ध जस्ता सामाजिक संरचनाहरूलाई धर्मले वैधता दिएको पाइन्छ। यस्तो दृष्टिमा धर्म “सत्ताको उपकरण” हो, जसले सामाजिक हैसियतलाई स्थायित्व दिन्छ र परिवर्तनप्रतिको विरोधलाई दबाउँछ। पूर्वजन्मको फल, कर्मको लेखान्त, देवताको लीला, र परलोकको आशाले विद्रोह र प्रश्न उठाउने चेतनालाई कमजोर बनाउँछ। अहिले पनि यस्ता विचारहरू जीवित छन्, जस्तै, केही मानिसहरू अझै राजालाई विष्णुको अवतार मान्छन्, र “हामीलाई राजा चाहियो” भनेर रोइकराइ गर्छन्।
उदेक लाग्दो पक्ष त के छ भने, भारतको सत्ताधारी पार्टी आफूलाई “हिन्दूवादी” ठान्दछ। उनीहरूले गाईलाई गौमाता मानी पूज्छन्, गहुँतलाई अमृतको रूपमा सेवन गर्छन् र गौ–हत्या अक्षम्य पाप मानिन्छ। तर त्यही देश आज विश्वमै गाईको मासु उत्पादन र निर्यात गर्ने दोस्रो ठूलो राष्ट्र हो, जुन स्पष्ट धार्मिकताको आवरणभित्र लुकेको राजनीतिक–आर्थिक विडम्बना हो।
धर्म आफैंमा मानवता, प्रेम र नैतिकताको सन्देश हुनुपर्ने हो। तर व्यवहारमा धर्म राजनीति, जातीय घृणा, कट्टरता र सत्ताको औजार बनेको छ, जसका कारण आज धर्म स्वयं हिंसा र विखण्डनको मूल कारण बन्न पुगेको छ।
आजको विश्वमा धर्मको नाममा युद्ध भइरहेका छन्। हाल जारी रहेको इजरायल–प्यालेस्टाइन (यहूदी–मुस्लिम) युद्ध, भारतमा हिन्दू–मुस्लिम तनाव, म्यानमारमा रोहिंग्या मुस्लिममाथिको दमन, चीनमा उइघुर मुस्लिमहरूको अत्याचार, र सुडानमा भइरहेको धार्मिक तथा जातीय द्वन्द्व यसका केही उदाहरण हुन्। निहत्था नागरिक, बालक, वृद्ध र गर्भवती महिलासम्मको निर्मम हत्या धर्मकै नाममा भइरहेको छ — जुन गम्भीर नैतिक विडम्बना हो।
मानव जीवन सधैं दुःख, मृत्यु, अन्याय र अज्ञातबाट घेरिएको छ। यिनै पीडाबाट छुटकारा पाउने आशामा मानिसले धर्मको निर्माण गर्यो — जसले स्वर्ग, पुनर्जन्म र मोक्षजस्ता अवधारणामार्फत डरलाई कम गर्यो र जीवनलाई सह्य बनायो। तर समयक्रममा अज्ञानताबाट जन्मिएको धर्म, आज बुद्धिविहीन कट्टरताको रूपमा विकसित भई विनाशको प्रमुख कारण बनेको छ।
Southwestjournal.com का अनुसार चीनमा ९१%, चेक गणराज्यमा ७२%, स्वीडेनमा ८५%, जापानमा ६५%, बेलायतमा ६९% र दक्षिण कोरियामा ५२% जनसंख्याले ईश्वर वा धर्ममा विश्वास गर्दैनन्। त्यस्तै, indonesiasentinel.com को सन् २०२५ को तथ्याङ्क अनुसार सोमालियामा ९९.८%, नाइजेरियामा ९९.७%, इथियोपियामा ९९.३%, यमनमा ९९.१% र मलावीमा ९९% जनताले ईश्वर वा धर्ममा विश्वास गर्छन्। यी तथ्यांकहरूले स्पष्ट देखाउँछ कि ईश्वर वा धर्ममा गहिरो विश्वास राख्ने देशहरू अझै पनि गरिबी, द्वन्द्व र अस्थिरतामा जकडिएका छन्, जबकि ईश्वरमा विश्वास नगर्ने देशहरू विकास, शिक्षा, वैज्ञानिक सोच र जीवनस्तरका दृष्टिले अग्रणी छन्। धर्म र समृद्धिबीचको सम्बन्धबारे निष्कर्ष तपाईं आफैंले निकाल्नुहोस।
०७७ को तथ्याङ्कअनुसार, विश्वभर हिन्दूहरूको जनसंख्या मात्र १४.९% रहेको छ। यसको अर्थ के हो भने—विश्वका बाँकी ८५.१% मानिसहरू न त हिन्दू धर्मका देवी–देवता चिन्छन्, न त तिनीहरूका सन्तान, नातागोता वा देवगणलाई नै स्वीकार गर्छन्। यद्यपि हिन्दू धर्मका ग्रन्थहरूले मोक्षको मार्ग केवल धर्म पालन गर्नेहरूलाई देखाउँछन्।
त्यस्तै, ख्रिस्टियन धर्म मान्ने जनसंख्या २८.८% छ। अर्थात, ७२.२% मानिसहरूका लागि येशू ख्रिस्टमार्फत प्राप्त हुने भनिएको स्वर्गको ढोका बन्द छ। ख्रिस्टियन धर्मले मोक्ष प्राप्तिको एकमात्र बाटो येशूलाई “उद्धारकर्ता” रूपमा स्वीकार गर्नु हो भन्छ।
इस्लाम धर्मको पनि यही स्वरूप छ। “जन्नत” (स्वर्ग) पाउने अधिकार इस्लाम धर्ममा विश्वास राख्ने २३.९% मानिसहरूमध्ये पनि केवल अल्लाहको आज्ञा पालन गर्ने, पवित्र जीवन बिताउनेहरूलाई मात्र मिल्छ।
अब यहाँ एक गम्भीर प्रश्न उठ्छ—यदि धर्म साँचोमा सार्वभौमिक मार्ग हो भने, त्यसले शेष मानवता—जो अन्य धर्म, अन्य संस्कृति, वा अन्य विश्वासमा जन्मिएको छ—तिनीहरूलाई स्वतः बहिष्कृत किन गर्छ? के जन्मको संयोगले नै कसैको मोक्षको ढोका बन्द हुनुपर्छ?
धार्मिक ग्रन्थहरू प्रायः आफ्ना अनुयायीहरूलाई मात्र मोक्ष, स्वर्ग वा अनन्त जीवनको आश्वासन दिन्छन्। तिनको दृष्टिमा बाँकी सबै “अविश्वासी”, “पापी”, वा “मुक्ति अयोग्य” हुन्। यस्तो सोचले विश्वव्यापी सहअस्तित्व होइन, बहिष्कार (exclusion) को भावना जन्माउँछ।
अतः, यस्ता तथ्यांकले एक असहज सच्च्याई उजागर गर्छ—धर्महरू मोक्षको बाटो देखाउने दावी त गर्छन्, तर त्यो बाटोमा हिँड्न अनुमति दिनेहरू केवल आफ्नै ‘पक्षधर’हरूलाई मात्रै हुन्छ। बाँकी सबको लागि स्वर्गको ढोका बन्द, नरकको ढोका खुला। के यस्तै सोचले नै मानवतामा विभाजन र धार्मिक अहंकारलाई बढावा दिएको होइन र?
धर्मका अनुयायीहरू प्रायः “सबै धर्मका ईश्वर एउटै हुन्” भन्ने दाबी गर्ने गरेको पाइन्छ। तर यो दाबी गहिराइमा विश्लेषण गर्दा सरासर भ्रमपूर्ण देखिन्छ। यदि साँच्चै ईश्वर एउटै हुन् भने, तिनका अनुयायीहरू यति फरक, आपसमा विरोधी र हिंस्रक किन हुन्छन्? धर्मको नाममा भएका युद्ध, विभाजन, नरसंहार र द्वन्द्वहरू “ईश्वर एउटै हो” भन्ने कथित सिद्धान्तले न त रोकेका छन्, न नै रोक्न सक्ने सम्भावना देखिन्छ।
वास्तवमा, हरेक धर्मले आफ्नो ईश्वर वा धर्मदर्शनलाई नै अन्तिम सत्यको रूपमा प्रस्तुत गर्छ। हिन्दू धर्ममा बहुदेववाद पाइन्छ, जहाँ अनेकौं देवी–देवता छन्। इस्लाम धर्ममा एकेश्वरवाद छ, जहाँ “अल्लाह बाहेक अरू कुनै ईश्वर छैन” भनिन्छ। बौद्ध धर्ममा त ईश्वरको नै अस्वीकार गरिएको छ। ख्रिस्टियन धर्मले येशू ख्रिस्तलाई ईश्वरका पुत्रका रूपमा स्वीकार्छ र उहाँमार्फत मात्र मोक्ष सम्भव छ भनी विश्वास गर्छ।
यस्ता परस्पर विरोधी अवधारणाहरूबीच “ईश्वर एउटै हो” भन्नु केवल भावनात्मक समन्वयको शब्दजाल हो, जसको न त तात्त्विक आधार छ, न नै व्यवहारिक प्रमाण। धार्मिक विविधता सम्माननीय हुन सक्छ, तर विविधतालाई कृत्रिम एकताको खोल ओढाएर ‘सत्य एउटै हो’ भन्ने ढोंग गर्नु, यथार्थबाट भाग्नु हो।
संक्षेपमा भन्नुपर्दा, धर्म सर्वसाधारणका लागि आस्था हो, नेताहरूका लागि राजनीति गर्ने हतियार, र व्यपारी–पुरोहितहरूको लागि व्यापार हो। धर्म फरक–फरक वर्गका लागि फरक–फरक तरिकाले प्रयोग भइरहेको छ — आस्था, शक्ति र मुनाफाको माध्यमको रूपमा।
भय, डर र अज्ञानताबाट क्रमिक विकास भएर आएको धर्मलाई आज पनि सर्वसाधारणले आस्थाको रूपमा ग्रहण गर्छन्। आलोचनात्मक चेतलाई सुसुप्त राख्दै धर्मलाई पवित्र, पूजनीय र परम सत्यको रूपमा स्वीकारिन्छ — प्रश्न गर्ने होइन, विश्वास गर्ने कुरा भनी मानिन्छ। परलोकमा स्वर्गको आशा र नर्कको डरले मानिसलाई लखेटिरहेको छ।
नेताका लागि धर्म राजनीतिक रंगमञ्चको स्क्रिप्ट हो, जहाँ जनताको आस्थालाई अभिनेता बनाएर आफूले सत्ता र शक्ति कब्जा गर्छन्। हिन्दू–मुस्लिम, शिया–सुन्नी, क्याथोलिक–प्रोटेस्टेन्टबीच फूट पारेर शासन चलाउने उनीहरूको मुख्य रणनीति हो। धार्मिक नारा, जात, सम्प्रदाय, उत्सव, मठ–मन्दिर, वा गोरक्षाजस्ता चुनावी मुद्दा बनाएर जनताको आस्थामा खेलिन्छ। धर्मको भावनालाई चोट पुर्याएर हिंसा भड्काइन्छ र त्यसको राजनीतिक लाभ उठाइन्छ।
ब्यापारी, पण्डा र पुरोहितका लागि धर्म भनेको व्यापार हो, जहाँ पवित्रता हुँदैन। व्यापारीहरूले धर्मलाई ग्राहकको मनोविज्ञान बुझेर मूल्य सूची बनाएर स्वर्गको भ्रम देखाएर यमलोकको टिकट बेचिरहेका हुन्छन्। जहाँ श्रद्धा किनिन्छ, पूजा खरिद गरिन्छ र मोक्षको आशामा आस्तिकहरू ठगिन्छन्।
धर्म कुनै दैवी प्रेरणाबाट आएको होइन, मानव समाजको चेतनात्मक, भावनात्मक र राजनीतिक अवस्थाको परिणाम हो। धर्म न त ईश्वरले पठाएको व्यवस्था हो, न त शाश्वत सत्य हो—यो समय, सत्ता र समाजको मिलेमतोबाट जन्मिएको ऐतिहासिक संरचना हो, जसले आफ्नो समयको आवश्यकता पूरा गरेको छ, तर सधैंका लागि अपरिवर्तनीय सत्य मान्न सकिँदैन। जबसम्म मानिसले आफ्ना अस्तित्वगत प्रश्नहरूको उत्तर विज्ञान र दर्शनबाट खोज्न सक्दैन, तबसम्म धर्म जीवित रहनेछ। धर्म मानव चेतनाको प्रारम्भिक चरणको उत्तर हो—न त अन्तिम सत्य, न त परम रहस्य।
प्रसिद्ध अंग्रेज-अमेरिकी लेखक, पत्रकार र वक्ता क्रिस्टोफर हिचेन्सले (१९४९ – २०११ ) आफ्नो “ईश्वर महान् होइन” भन्ने कितावमा लेखेका – “जसको पक्षमा कुनै प्रमाण छैन, त्यसलाई प्रमाण बिना नै अस्वीकार गर्न सकिन्छ।”
ईश्वरवादीहरूको दाबीमा कुनै प्रमाण छैन। स्वर्गको आशा, नर्कको त्रास, पूर्वजन्मको पाप–पुण्यको मिथ्या विश्वासहरूले मात्र मानिसहरूलाई आतंकित गरी शोषणको शासन चलाइरहेका छन्। यी सबै अन्धविश्वास र भ्रम हुन् र यी सबै खारेजयोग्य छन्।


