शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

यात्रा अनूभव कैलाश–मानसरोवरसम्मको

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
यात्रा अनूभव  कैलाश–मानसरोवरसम्मको
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– मधु लम्साल

पंक्तिकारबाट दोस्रो पटकको कैलाश परिक्रमा अनूभव पाठक माझ प्रस्तुत गरिँदैछ । अघिल्लो वर्ष भाद्र तेस्रो साता कैलाश परिक्रमाका क्रममा मौसम अनी खानपिनको प्रतिकुलता अनी एजेन्सीद्धारा खटाइएका गाईडको व्यवहारले परिक्रमा यात्रा जटिल एवम् कष्टपूर्ण बन्न पुगेको भएता पनि यस पटकको कैलाश यात्रा भने सबै दृष्टिकोणले सहज एवम् अनुकुल नै रह्यो । आफ्नो सुखद एवम् उत्साहपूर्ण कैलाश परिक्रमा यात्रा पाठक माझ जानकारीका लागि पस्कने अनुमति चाहान्छु ।

कैलाश–मानसरोवर बारे

हिन्दु धार्मिक ग्रन्थ (चर्चित पुराण) ‘श्रीस्वस्थानी’ व्रतकथामा हिमालय पर्वत कैलाश र मानसरोवर बारे विभिन्न सन्दर्भमा रोमान्चक कथा सामग्री प्रस्तुत गरिएको पाइन्छ । धार्मीक ग्रन्थ अनुसार हिन्दु धर्मालम्बीका आराध्यदेव भगवान् महादेव र देवी पार्वती, पुत्रहरू श्रीगणेश–कार्तिकेयको बासस्थानका रूपमा कैलाश पर्वतलाई लिइएको छ ।

मानसरोवरलाई महादेवले हंशरूप धारण गरी जलविहार गरेकोलगायतका कथा ‘श्रीस्वस्थानी’ व्रतकथामा उल्लेख छ । हिन्दु धार्मिक कहावतअनुसार देवताहरूले मानसरोवरमा स्नान गरेर मात्रै कैलाशमा महादेवको दर्शन गर्थे रे ! त्यसैले पनि कैलाश अनि मानसरोवरको महिमा हिन्दु, बौद्ध, जैन, शिख, ॐकार, वोन लगायतका धार्मिक अनुयायीले गाउने-पछ्याउने गरेको पाइन्छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रमा अवस्थित कैलाश पर्वत तिब्बती पठारको पश्चिमी भागमा, ट्रान्सिमालयको गंगडिसेमा अवस्थित छ। ६,७१४ मिटर उचाइको कैलाश पर्वत चीन, भारत र नेपालको सिमानाको पश्चिमी त्रिभुजको उत्तरमा छ। मानसरोवर ताल र राक्षस तालको नजिक अवस्थित कैलाश पर्वत चारवटा प्रमुख एसियाली नदीहरूको स्रोत हो । कैलाश पर्वतबाटै नदीहरू सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली बहन्छन् ।

बौद्ध धर्ममा, कैलाशले संसारको पिताको प्रतिनिधित्व गर्दछ र मानसरोवर ताल माताको प्रतीक हो । बौद्ध ग्रन्थ अनुसार कैलाश पर्वतलाई पौराणिक ‘मेरु पर्वत’ भनेर चिनिन्छ।

धार्मिक एवम् आध्यात्मिक विचारबाट प्रभावित व्यक्ति त्यसमा पनि सानै उमेरदेखि ‘श्रीस्वस्थानी’को कथा श्रवण गर्दै आएकाले पनि पंक्तिकारको मानसपटलमा कैलाश र मानसरोवरले राम्रै स्थान ओगटिरहेको थियो । अघिल्लो वर्ष कैलाश परिक्रमा कष्टरुपमा सम्पन्न गर्नु परेको नमिठो अनूभवलाई यसवर्षको परिक्रमा यात्राले भने सन्तुष्ट मात्र दिलाएन, विगतको त्यो कष्टयुक्त अनूभवलाई नै बिर्साइदियो । मौसमले, स्वास्थ्यले, रुचीकर खानपिनले अनी गाइडको व्यवहारले यस वर्षको कैलाश यात्रा पूर्ण अनुकुल रह्यो । यथार्थमा भन्नु पर्दा गतवर्षको यात्रा परिक्रमा गराउने एजेन्सीका गाईडको व्यवहार, उनीहरुले उपलब्ध गराएको खान्की अनी प्रतिकूल मौसमले हाम्रो यात्रा जटिल एवम् कष्टपूर्ण बन्न पुगेको थियो । यस पटक त्यसो भएन ।

असार ६ गते तद्अनुसार जुन २० नवमीका दिन पंक्तिकारसहित भाईहरु नृपेन्द्र श्रेष्ठ, समिर गुरुङ, दिपेन्द्र श्रेष्ठ, ज्ञानेन्द्र सुवेदी र रविन्द्र श्रेष्ठको टिम केरुङ नाका हुँदै कैलाश-मानसरोवरको ९ दिवसीय तिर्थयात्रा पुरा गरी असार १४ अर्थात जुन २८ तृतियाका दिन सकुशल फिर्ता भइयो ।

यस पटक हाम्रो साथमा ‘डिकी’ नामकी टिवेटीयन गाईड थिइन । उनी बोल्नमा फरासीली अनी राम्रै नेपाली बोल्न सक्ने । अघिल्लो पटक हामीलाई खाना खुवाउने भनेर साथमै गएका तीन–तीन जना भान्से अनी हाम्रो सहयोगका लागि गएका भनिएका गाईडले उपलब्ध गराएको खानाभन्दा अहिले डिकीको सहयोगमा हामी नेपालीलाई रुच्ने सम्भव भएसम्म हाम्रो चाहाना अनुसारकै स्वाद र परिकारको खाना विभिन्न स्थानका रेष्टुरेन्टमा उपलब्ध भयो । मौसमले पूरापूर साथ दियो । परिक्रमा पूर्णरुपमा सफल रह्यो । थ्यांक्यू डिकी !

अनौठौ एवम् आश्चर्यजनक कैलाश

पहाडलाई संस्कृतमा ‘कैलाश’ भनिन्छ। यो नाम ‘केलास’ शब्दबाट पनि आएको हुन सक्छ, जसको अर्थ मणिभ हो । भौगोलिक अवस्थाले उच्च स्थानमा अवस्थित कैलाश हिमपर्वतको साहासिक परिक्रमालाई सामान्यरूपमा लिन यसै पनि मिल्दैन ।

पृथ्वीको भौगोलिक बनावट अनुसार अक्षांश – देशान्तरको केन्द्रविन्दु मानिने चिनको तिब्बत क्षेत्रस्थित कैलाश पर्वत त्यस कारण पनि कुनै न कुनै, केही न केही शक्तिले भरिपूर्ण छ । मौसम अनुसार क्षण–क्षणमा आश्चर्यजनक एवम् अनौंठो स्वरुपमा परिवर्तन भइरहने, उत्तिनैखेर बादलुको घुम्टोमै हराइदिने कैलाश पर्वत चर्चामा छाउनु नौंलो रहेन । देख्दा लाग्छ, समुद्र सतहदेखि ६ हजार ७ सय  १४  मिटर अग्लो विशाल सिंगो कैलाश पर्वत एउटै अनौठो शक्तिशाली चट्टानमा बिराजमान छ । उक्त पर्वत हालसम्म कसैले आरोहण गरेको छैन भनिन्छ । कहावत अनुसार आरोहणका लागि गएका कुनै पनि व्यक्ति नफर्केको र आरोहणकै क्रममा रहेका एक बौद्ध धर्मगुरुलाई भगवान शिवले आफैँमा समाहित गरेको पनि बताइन्छ । त्यसैले त उच्च भौगोलिक स्थानमा रहेको कैलाश पर्वतको पेरिफेरीमा पुग्दा जो कोहीले आफूलाई छुट्टै शक्ति प्राप्त भएको, एक प्रकारको उत्साहपूर्ण आनन्दको महशुस भएको बताउने गर्छन् ।

रामायणको उत्तरकाण्ड खण्डमा भनिएको छ कि रावणले भगवान शिवको बदलाको रूपमा कैलाश पर्वतलाई उखेल्ने प्रयास गरेको थियो, जसले बारीमा आफ्नो दाहिने खुट्टाकोऔँला पहाडमा थिचेर रावणलाई बीचमा फसाएको थियो । भगवान शिवको यो संस्करणलाई रावणनुग्रह पनि भनिन्छ, वा कैलाश पर्वतमा विराजमान हुँदा रावणलाई अनुग्रहित रूप पनि भनिन्छ।

हिमालको विष्णु पुराणमा भनिएको छ कि यसको चार मुख क्रिस्टल, माणिक, सुन र ल्यापिस लाजुलीले बनेको छ। यो संसारको स्तम्भ हो र कमलको प्रतीक छ वटा पर्वत शृङ्खलाको मुटुमा अवस्थित छ। विष्णु पुराणले भगवान शिवलाई कमलको स्थितिमा बसेको, पहाडको सिमाना भित्र गहिरो ध्यानमा व्यस्त र अनन्त आनन्दको अवस्थामा पूर्ण रूपमा डुबेको बारेमा कुरा गरेको छ।

धर्मालम्बी मध्ये हिन्दु, बौद्ध र जैनहरूले घडीको दिशामा परिक्रमा गर्छन्, जबकि बोनपोसले घडीको विपरीत दिशामा कैलाश पर्वतको परिक्रमा गर्छन् ।

कैलाश लैजान तँछाडमछाड तर, छैन जिम्मेवारी

सामाजिक सञ्जालमा कैलाश मानसरोवरको दर्शन गराउने प्रलोभनयुक्त विज्ञापन छरपष्ट देखिन्छन् । यतीबेला एजेन्सीका लागि त्यो चल्तीको व्यापार जस्तो बन्न पुगेको सामाजिक सञ्जालमा गरिएको प्रचारले देखाउँछ । व्यावसायिकरूपमा गरिएका त्यस्ता विज्ञापनले कैलाशको परिक्रमा सहज नै होला कि जस्तो लाग्छ । नलागोस् पनि किन ? अरु त अरु ८ दशक उमेरका व्यक्तिले पनि परिक्रमा गरेको भ्रमपूर्ण विज्ञापन सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्छ । व्यवसायीबीच दर्शनार्थीलाई प्रभावमा पारेर आफ्नो एजेन्सीमा दर्शनार्थीको रुपमा ग्राहक तान्न एक प्रकारको एजेन्सीबीच चलेको होड हो भन्दा फरक नपर्ला ।

अस्वस्थ प्रतिस्पर्धाले गर्दा आवश्यक गराउनै पर्ने जानकारी पनि ती व्यवसायीले इच्छुक दर्शनार्थीलाई गराइरहेका हुन्नन् । तोकिएको खर्चको जोहो गर्न सके जो पनि सहजै कैलाश परिक्रमा गरेर आइन्छ भन्ने भ्रम सामाजिक सञ्जालमा देखिने विज्ञापनले पारिरहेको हुन्छ । तर, विज्ञापन गरिएजस्तो कैलाश परिक्रमा सहज भने छँदैछैन । व्यापार गर्ने नाममा व्यक्तिको संख्या संकलन गर्न गरिएका विज्ञापनले कैलाशको दर्शनका लागि इच्छुक दर्शनार्थीलाई कैलाश परिक्रमाबारे यथार्थ जानकारी नगराइनु नै प्रथमतः व्यावसायिक संस्थाहरूको बदमासी मात्रै होइन, ठगी नै जस्तो लाग्छ ।

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

२ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

कैलाश परिक्रमा गराउने भनेर रकम असुल गर्ने, मानसरोवर पुगिसकेपछि परिक्रमाका लागि गएका तिर्थालुलाई स्वास्थ्य अवस्था अनी उमेरको कारण देखाएर हत्तोसाही गर्ने दोहोरो नीति कतिपय एजेन्सीले लिने गरेका हुन्छन् । रकम असुलेर कैलाश यात्रा अघि बढाइदिएपछि चाहे त्यो व्यक्तिलाई जस्तो सुकै समस्या आई परोस्, त्यो एजेन्सीले सुन्ने, हेर्ने वा सामाधान गर्ने अवस्था रहन्न । पंक्तिकारले दुई पटकसम्म गरेको परिक्रमा यात्रा अनूभव अनी परिक्रमाका लागि गएका थुप्रै तिर्थालुसँग भए गरेका भलाकुसरीबाट प्राप्त सूचना पाठकको जानकारीका लागि यहाँ पस्किइएको हो ।

इच्छुक व्यक्तिलाई विभिन्न स्थानमा घुमाउने, डुलाउने नाममा खुलेका ट्राभल एजेन्सी भनौं वा ट्रेकिङ एजेन्सीले आफ्नो कम्पनीबाट लैजान लागिएको स्थानको भौगोलिक अवस्था र मौसमको अनुकूलताका सन्दर्भमा सामान्य जानकारी दिए पनि मौसम प्रतिकुलताको अवस्थामा अति आवश्यक बन्दोबस्तीका सामग्री साथमा लैजानेबारे जानकारी गराइनु पर्ने हो । तर, कैलाश दशनार्थीलाई त्यस्तो सन्दर्भमा केही जानकारी गराउने गरिएको पाइन्न । चाहे आफूलाई उच्च व्यावसायिक कम्पनी मान्नेहरू होउन् वा सामान्य ‘सिजनेवल’ कम्पनी नै चलाएर बसेकाहरू किन नहोउन् । केही एजेन्सी त त्यस्ता पनि फेला परे जसले आफ्नो सम्पर्कमा पुगेका दर्शनार्थीलाई उबाट असुलेको रकममध्ये आफूले केही प्रतिशत कमिसन काटेर अर्को एजेन्सीको जिम्मा लगाउने गरेको पनि देखियो ।

तीर्थयात्रीबाट महँगो शुल्क असुल्ने केही एजेन्सीले सामान राख्ने व्याग र फिर्ता गर्ने गरी चिसोमा लगाइने ‘डाउन ज्याकेट’ उपलब्ध गराउने गरेता पनि हिमपात भएको बेला वा पानी परेको अवस्थाका लागि बन्दोबस्तीका थप समान उपलब्ध गराउने गरेका हुन्नन् । न त त्यस्तो अवस्था पनि आइपर्न सक्छ भन्ने पूर्ववत जानकारी नै दिन्छन् । त्यस्तो अवस्था आइपरेमा चाइनाबाटै आएको सामान भए पनि काठमाडौंंको बजारमा भन्दा ३ गुणा बढी मूल्यमा स्वयम् दर्शनार्थीले नै आवश्यक परेकै स्थानमा तत्काल खरिद गर्न बाध्य हुनुपर्छ । तीर्थयात्रीको सहयोगका लागि भनेर जाने सहयोगी गाइडको व्यवहार कतिपय अवस्थामा पाच्य हुन सक्दैन । अचानकको हिमपात वा वर्षात्का बेलामा पनि केहीबेर अलमल गर्ने सुविधा समेत खोसिन्छ । उनीहरूकै शैलीमा, तोकिएकै स्थानमा पुग्नै पर्ने हुकुम तीर्थयात्रीमाथि चलाउँछन् ति सहयोगी भनाउँदाहरू । स्वास्थ्य समस्यामा परेका, थाकेर हिँड्न नसकेर पछि परेका यात्रीलाई हिँड्न हौसला दिनु त परैको कुरा आफू नै अघि लाग्ने गर्छन्् । भन्छन्, ‘यती गरेन भने हिँड्नै खोज्दैनन् ।’

कैलाश परिक्रमाको सिजन, दर्शनार्थी अनि चेकजाँच

उच्च हिमाली भेग भएकाले हिउँ पर्नुअघि अर्थात् जुन, जुलाई, अगस्ट र सेटेम्बर (जेठ, असार, साउन, भदौ) लाई कैलाश परिक्रमाका लागि उचित समय मानिन्छ । चैत्र–वैशाख हावाहुरीको सिजन भएको र भाद्र तेस्रो सातादेखि चिसो बढ्ने भएकाले त्यसबीचको अवधि कैलाश परिक्रमाका लागि उत्तम मानिन्छ ।

पाँच–छ वर्ष अघिदेखि कैलाश मानसरोवरका लागि प्रवेशाज्ञाबाट वञ्चित भारतीय दर्शनार्थीका लागि यसै वर्षदेखि पुन प्रवेश खुल्ला गरिएको छ । विगत वर्षको तथ्याकंअनुसार मानसरोवरमा ४० प्रतिशत स्थानीय तिब्बतीयन, ३० प्रतिशत नेपाली, १५ प्रतिशत विभिन्न देशको राहदानी प्राप्त गरेका गैरआवाशिय भारतीय नागरिक (एनआरआई) र १५ प्रतिशत ट्रेकिङका लागि आउने विदेशी हुन्थे । तर, अब भारतीयका लागि पनि प्रवेशाज्ञा खुल्ला हुने भए पछि अबका दिनमा समग्र तथ्यांकमा हेरफेर हुनेछ । भारतीयलाई प्रवेशमा अनावश्यक झमेला खडा नगरिएको खण्डमा कैलाश–मानसरोवरको दर्शन एवम् परिक्रमा गर्ने ठूलो जमात भारतीय तिर्थयात्री नै हुने अड्कल काट्न सकिन्छ ।

तिब्बतबासी बौद्ध धर्मप्रति निकै आस्थावान् छन् । पाँचौं शताब्दीतिर बोन धर्मको शुरुवाती तिब्बतबाटै भएको र उक्त धर्म फैलिँदै सोभियत संघ (रुस)सम्म पुगेको हो । तर, समयक्रम अनुसार तिब्बतमा बोन धर्मलाई बौद्धधर्मले विस्तापित गरिदियो । पृथ्वीकै जनसंख्याको एकतिहाई हिस्सा रहेको मानिने चिनमा समग्र चिनबासीले भने धर्मप्रति त्यती चासो राख्दैनन् । राख्न दिइँदैन । साथै, सिमामा रहेका नेपालीलाई पनि निश्चित किलोमिटरभन्दा अगाडि बढ्न स्वीकृती छैन ।

कैलाश मानसरोवरका लागि प्रवेशाज्ञा अनूमती

चिनको तिब्बत क्षेत्रमा पर्ने कैलाश मानसरोवरको दर्शन एवम् परिक्रमा गर्न जाने नेपाली, भारतीय तिर्थालुले व्यक्तिगत ‘भिसा’ पाउँदैनन् । उनीहरूले ‘ग्रुप भिसा’ लिनु पर्छ । ग्रुपमा कम्तीमा चारजना हुनै पर्ने । ‘भिसा’ भएर पनि स्थानीय एजेन्ट अर्थात् गाइडबिना प्रवेश नपाइने । भिसा प्राप्त व्यक्तिलाई सिमानाकामा गरिने चेकजाँचले अन्तराष्ट्रिय विमानस्थलकै झल्को दिन्छ । अर्थात्, कडाशैलीमा हुने चेकजाँचका क्रममा चिन सरकारका लागि घाँडो मानिएका हाल भारतमा प्रवास जीवन बिताइरहेका बौद्ध धर्मगुरु दलाई लामाको तस्बिरसम्म अध्यागमन अधिकारीले देख्न नहुने । चेकजाँचका क्रममा कुनै पनि फलफुल, तरकारीका साथै विउविजनका रुपमा प्रवेश गराउन खोजीएको ठानेर गेडागुडीजन्य बस्तु भित्र्न नदिइने, जुनसुकै भाषामा लेखिएका पत्रपत्रिका, नक्सा, पुस्तकलगायतका जानकारीमूलक सामग्री चेकजाँचका क्रममा बोर्डरमै खोसिने । भन्सारमा खटिएका सुरक्षा अधिकारीले आफूलाई जानकारी नभएको अर्थात् आफूले प्रष्टसँग नबुझेसम्म त्यो मालबस्तु छाड्न इन्कार नै गर्ने । मोवाइल, ल्यापटपमा कहीँकतै दलाई लामाको तस्बिर देखा प¥यो भने त्यो व्यक्तिले प्रवेश पाउन सम्भवै छैन । मोवाइल र ल्यापटप नियाली नियाली हेर्दा लाग्छ, उनीहरूका लागि दलाई लामा कति टाउको दुखाइका रहेछन् ? नाकाबाट ‘इन्ट्री’ पाइसकेपछि पनि राजमार्गको ठाउँठाउँमा चेकपोस्ट, कडा चेकजाँच । त्यहाँँ पनि ‘इन्ट्री परमिट’ देखाउनै पर्ने अनि गाईड पनि साथमै हुनु पर्ने ।

मानसरोवरसम्म ७५ वर्ष उमेर हाराहारीका नेपाली पनि तिर्थयात्रामा गएको देखियो । तर, कैलाश परिक्रमा त्यो उमेर प्रतिकूल हो भने ७० वर्ष उमेर पार गरेको भारतीयले प्रवेश अनूमती अर्थात् ‘भिसा’ नै पाउँदैनन् ।

कैलाशसम्म लैजाने रुट अनी तिर्थालुबाट असुल्ने रकम

कैलाश–मानसरोवरको परिक्रमाका लागि एजेन्सीले ९ देखि ११ दिनको समय छुट्याउने गरेको पाइन्छ । पछिल्ला दिनमा एजेन्सीबीच चल्दै गरेको प्रतिस्पर्धात्मक होडले गर्दा तिर्थालुबाट असुल्ने रकममा कमी गर्दै तिर्थयात्राको दिन पनि कम गर्न थालिएको छ । नेपाली दर्शनार्थीबाट एजेन्सीले १ लाख पचास हजारदेखि १ लाख सत्तरी हजारसम्म असुल्ने गरेकोमा त्यो रकम अहिले केही एजेन्सीले घटाएर १ लाख ३० हजारसम्म पनि झारेका छन्, रसुवा नाकाबाट लैजाँदा ।

यात्रुको सुविधाका लागि काठमाडौंबाट नेपालगन्ज, नेपालगन्जबाट सिमिकोट जहाजमा, त्यहाँँबाट हिल्सा नाकासम्म हेलिकप्टर अनि त्यहाँँबाट सवारीसाधनमा लैजाने पनि केही एजेन्सीले व्यवस्था मिलाएका रहेछन् । यसका लागि प्रतिव्यक्ति २ लाख ६० हजारदेखि ३ लाखसम्म असुल्दा रहेछन् । त्यस्तै, केही एजेन्सीले राम्रै रकम असुलेर ‘हेलीटुर’को नाममा काठमाडौंबाट रसुवाको स्याफ्रुवेसीसम्म हेलिकप्टर र त्यहाँबाट केरुङ हुँदै मोटरगाडीमा लैजाने पनि गर्दा रहेछन् । यसरी ट्रेकिङमा आएका विदेशी नागरिक र दर्शनकै लागि जाने गैरआवाशिय भारतीयसँग भने एजेन्सीवालाले आफूखुसी राम्रै मोलमोलाई गर्ने गरेको पाइयो ।

केरुङ नाकाभन्दा बाटो सहज भए पनि हाल सिन्धुपाल्चोकको तातोपानी नाका, मुस्ताङको लोमान्थाङ नाका तिर्थयात्रीका लागि खुला गरिएको छैन, बन्द नै छ । बरु, काठमाडौंबाट हवाई यात्रा गर्दै तिब्बतको ल्हासा अनी ल्हासाबाट सिगात्से, सागा हुँदै कैलाश–मानसरोवरको यात्रा निकै सुविधाजनक मानिन्छ । तर, यो यात्रामार्ग सुविधायुक्त भएता पनि खर्चका हिसावले निकै महंगो पर्न जान्छ ।

कैलाश परिक्रमा र भौगोलिक अवस्था

कैलाश मानसरोवर तीर्थयात्राका क्रममा चिनको तिब्बत क्षेत्र प्रवेश गर्ने नेपालका थुप्रै नाका छन् । त्यसमा प्रमुख रसुवाबाट केरुङ नाका हुँदै होस् वा बाह्रबिसेको खासा नाकाबाट अथवा मुस्ताड्गको कोरला नाकाबाटै किन नहोस्, यी नाकाबाट प्रवेश गरेपछि सागा सहर वरपरको राजमार्गमा जोडिन पुगिन्छ ।

सिमिकोटको हिल्सा नाकाबाट प्रवेश गर्दा दार्चेन नजिकको हाइवेमा मिसिने रहेछ । त्यसो त विवादित लिम्पियाधुरा अर्थात लिपुलेकबाट पनि कैलाश–मानसरोवर नजिकै पर्दो रहेछ । तर, नेपाली र भारतीयका लागि अहिले केरुङ नाका सहजढंगबाट र विशेष अवस्थामा हिल्सा नाकाबाट मात्र प्रवेश पाइन्छ ।

केरुङ नाका हुँदै जाने तिर्थालुका लागि पहिलो दिन रसुवाको धुन्चे वा स्याफ्रुवेशी नेपाल–चिन नाका नजिकै राखिँदो रहेछ । भोलीपल्ट अध्यागमन पार गराउँदै करिव ३० किमी पर तिब्बत प्रवेशको पहिलो शहर केरुङ २७७४ मिटर उचाइँमा बास बसाइन्छ । तेस्रो दिन ४५५० मिटर उचाइँको सागा सहरमा र चौंथो दिन सवारी साधनबाटै विशाल पवित्र मानसरोवरको परिक्रमा गराउँदै त्यही तालको दक्षिणी भागमा बसाइन्छ । भोलीपल्ट स्नान एवम् पूजाआजामा सरीक भइसकेपछि समुद्र सतहबाट झण्डै ४ हजार ५ सय ९० मिटर उचाइमा रहेको मानसरोवर बराबरकै उचाइँमा रहेको दार्चेन शहर (४६७० मिटर) मा बास बसाइन्छ । अनी, बल्ल सुरु हुन्छ कैलाशका लागि ३ दिने परिक्रमा यात्रा ।

भौगोलिकताको दृष्टिले ४६७० मिटर उचाइ आम नेपालीका लागि अनुकूल नै मान्न त सकिन्न, तापनि सवारीसाधन नै चढेर गइने हुँदा त्यहाँँसम्मको यात्रा खासै प्रतिकूल देखिन्न । कैलाश यात्राका लागि त्यहाँँ पुग्ने व्यक्तिको एक्सीमिटरबाट जाँच गर्दा अक्सिजन लेभल ७० भन्दा माथि नै हुनु पर्ने हुन्छ । एजेन्सीद्धारा तीर्थालु टोलीसँगै डाक्टर पनि साथमै हुने बताइन्छ । तर, त्यहाँ अक्सीजन नाप्ने बाहेकको केही काम हुँदैन, नत चिकित्सक नै साथमा हुन्छन् । कुनै तिर्थालुको स्वास्थ्य अवस्था बिग्रेको खण्डमा उपचारको सन्दर्भ ‘अलपत्र’ नै हो भन्दा फरक नपर्ला ।

कैलाश यात्राका क्रममा दार्चेन (४६७० मिटर) उचाइसम्म खासै जानकारी नगराइने भएता पनि ‘हाइ अल्टिच्यूड’ अर्थात लेक लाग्न सक्ने सम्भावनालाई ख्याल गर्दै कुनै–कुनै एजेन्सीले सागा र दार्चेन शहरमा १–१ अतिरिक्त दिन विश्राम गराउँदा रहेछन् । खासगरी मानसरोवर पुगेपछि मात्रै स्वास्थ्य समस्याका बारे ‘यसो र त्यसो’ भनेर त्रास देखाइदिँदा आफूसँगै गएका गाइडसँग विवाद गर्ने दर्शनार्थीको संख्या पनि कम देखिन्न । स्वास्थ्य समस्याका कारण त्यहाँँबाट अघि बढ्न नसक्ने अवस्था आइपरे पनि आफूले बुझाएको पैसा फिर्ता हुने होइन । बरु, उल्टै ती गाइडले तपाईंलाई माथि होटल बुक गरेको छ, त्यहाँँ बुझाएको पैसा फिर्ता हुन्न अनि यहाँ पनि होटलमा बसेको रुमको पैसा तिर्नु पर्ने हुन्छ भन्दै थप रकम असुल्ने गरेको देखियो ।

कैलाश परिक्रमा अन्तर्गतको तीनदिने पैदल यात्राको क्रम दार्चेनबाटै सुरु हुन्छ । अधिकांश तिर्थालुले यमद्वारबाट सुरु गर्दा रहेछन् । दार्चेनबाट यमद्वारसम्म ७ किलोमिटर सवारीसाधनमा पुगिन्छ । त्यसका लागि कुनै कुनै एजेन्सीले प्रति व्यक्ति थप रकम असुल्ने गरेको पनि पाइयो । समुद्र सतहबाट यमद्वारको उचाइ ४८५० मिटर छ । ७–८ घण्टा लगाएर १५ किलोमिटरको पैदलयात्रा तय गरेपछि ५२ सय मिटर उचाइको दिरापुकमा पुगिन्छ । त्यस दिनको बास त्यही दिरापुकमा हुन्छ । यसबीचमा चार–चार किलोमिटरमा एक एक वटा मात्रै ‘टि–सप’ अर्थात् खाजा खाने ठाउँ भेटिन्छ ।

उत्तरी मोहडाबाट कैलाश पर्वतको भव्य दर्शन गर्न सकिने यो ठाउँसम्म स्वस्थ व्यक्तिले खासै समस्या भोग्नु पर्दैन । यद्यपि, हिँड्न नसक्नेहरू भने घोडा सवारी प्रयोग गर्छन्् । यहाँसम्मको घोडा सवारीको झण्डै १५ सय घुर्मी अर्थात् ३० हजार नेपाली रूपैयाँ बुझाउनु पर्छ । मालसमान ओसार्न त्यहाँको भरिया चौरीगाइँ मानिन्छ । कैलाशको नजिकबाट दर्शन गर्ने अभिलाषाले दर्शनार्थीहरू यहाँसम्म जसै पुग्न चाहन्छन् ।

यहाँबाट अघि बढ्न नसक्नेहरू एम्वुलेन्सबाट दार्चेन फिर्ता हुने सःशुल्क व्यवस्था छ । यमद्वारबाट अघि बढेका तिर्थालुलाई सबैभन्दा समस्याको विषय शौचको हुन्छ । विश्वभर खुला दिशापिसाव मुक्त अभियान तीव्रताका साथ चलिरहेको अवस्थामा तिर्थालुहरू खुला शौच गर्न बाध्य हुन्छन् । यतिसम्मकी झण्डै २–३ सय यात्रु बास बस्ने क्षमता रहेको होटलमासमेत होटलभित्रै शौचालयको व्यवस्था छैन । सिंगो चिन सरकार, तिब्बत प्रादेशिक सरकार वा स्थानीय सरकारको समेत किन त्यतातर्फ ध्यान नपुगेको हो वा हिन्दु–बौद्ध धर्मालम्बीप्रति गरिएको उपेक्षा हो ? बुझ्न सकिएन । यद्यपि, पछिल्लो समय पब्लीक शौचालयको व्यवस्था गरिएको देखिए पनि आवश्यक सफाईको अभावमा नाक थुनेर, आँखा चिम्लेर शौच गर्नु पर्ने बाध्यता छ ।

कैलाश परिक्रमाका क्रममा सबैभन्दा कठिन र जटिल दोस्रो दिनको पदयात्रा अर्थात् परिक्रमाको दिनलाई मानिन्छ । दिरापुकबाट सुरु हुने परिक्रमा पैदलयात्रा जुथुलपुक पुगेर रोकिन्छ । ५२ सय मिटर उचाइबाट सुरु हुने दोस्रो दिनको परिक्रमा यात्रा झण्डै ५६ सय ५० मिटर उचाइको डोल्माला पास हुँदै ११–१२ घण्टा लगाएर १८ किलोमिटरको उकाली ओराली  अनी सम्मो यात्रा ४७ सय ६० मिटर उचाइको जुथुलपुकमा पुगेर त्यस दिनका लागि स्थगित हुन्छ । यसबीचमा पनि ३–४ ठाउँमा मात्रै ‘टि–सप’अर्थात खाजा खाने ठाउँ भेटिन्छ ।

यस दिनको पदयात्रालाई ‘डेन्जर जोन’का रूपमा राखिएता पनि उद्धार एवम् आरामस्थलको अभाव देखिन्छ । घोडा सवारीले दिरापुकबाट डोल्मालासम्मको उकालो चढाएको यहाँ पनि २ हजार घुर्मी अर्थात ४० हजार नेपाली रूपैयाँ असुल्दा रहेछन् । आफ्नै शरीर भारी लाग्ने यो यात्राका क्रममा साथमा लगेको ५–७ केजीको झोला पनि आफूलाई घाँडो लाग्ने, भरियालाई बोकाउँदा त्यही सानो झोलाको पनि ५–७ सय घुर्मी दश–बाह्र हजारको ‘डिमाण्ड’ गर्ने अवस्था रहेछ । पहिलो दिन र दोस्रो दिनको पैदल परिक्रमाका दिन आफूलाई लैजाने एजेन्सीले दिएको ‘लन्च प्याकेट’ सम्झँदा पनि ‘कठै’ भनेजस्तो लाग्छ । ‘ब्रेकफास्ट’ र ‘डिनर’ पनि उस्तै । झन् हिँड्न शक्ति चाहिने बेलामा टिठलाग्दो खान्की ! पैसा तिरेर पनि भाषा ज्ञानको अभावमा ‘टि–सप’मा शाकाहारी खाना नपाइने ! परिक्रमा यात्राका क्रममा खानाको प्रसंग निकाल्दा एजेन्सीले खटाएका गाइडसँग कुरा गर्दा उनीहरूले होटल–रेस्टुरेन्टले नेपाली स्वादको खाना नदिने आफूहरूले खाना तयार गर्ने भाँडाकुडा बोकेर ल्याउन नसक्ने जवाफ दिन्छन् ।

हिमाल आरोहण गरेकै आभास दिलाउने दिरापुकबाट जुथुलपुक जाने पैदलमार्ग कस्तो होला ? त्यसमा पनि हिउँ परेको बेला, बाटो नदेख्दाको अवस्थामा त्यो यात्रा कसरी तय गरिँदो होला ? अहिले सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ ।

अघिल्लो पटक हाम्रो टोली दिरापुकबाट जुथुलपुकतर्फको यात्रा सुरु गर्नुअघि नै हिऊँ परिरहेको अवस्था थियो । ‘यस्तोमा कसरी जान सकिन्छ ?’ भन्ने जिज्ञासामा गाइडको भनाइँ गैरजिम्मेवार लाग्छ । ‘जसरी भए पनि जानै पर्छ । यहाँ हाम्रो लागि आज बस्ने व्यवस्था हुन सक्दैन । उता, जुथुलपुकमा पनि रुमको पैसा बुझाइसकेको हुन्छ ।’ गाइडको भनाइ सुन्दा पैसाकै लागि ज्यान जोखिममा राख भनेजस्तो लाग्ने । तर, अनुभवकै कुरा गर्नु पर्दा यस पटकको अवस्था त्यस्तो रहेन । हामीलाई मौसमले पूरापूर साथ दियो ।

दिरापुकबाट बिहान झिसमिसेमा उकालो चढ्दै गर्दा डोल्माला पास आउला छैन, आउला छैन । उकालोमा कमिलाको ताँतीजस्तै एकपछि अर्को पाइला ! यात्राको क्रम जारी । कैलाश परिक्रमा गर्दैछौं भन्ने भुलेर हिमाल आरोहण पो गरिरहेका छौं कि जस्तो भान पथ्र्यो । परिक्रमा यात्रा गरिरहेका केही पैदलयात्री कोही अक्सीजन लिँदै गरेका, कोही–कोही अघि बढ्न नसकेर आकुल–व्याकुल अवस्थामा पनि देखिन्थे । कोही घोडसवारीमा हुन्थे भने कोही कसैले तानेको र कसैले धकलेको अवस्थामा पनि भेटिन्थे ।

दिरापुक र डोल्मालाको बीचमा रहेका ‘टि–सप’ निकै महंगा । अवस्थाको फाइदा लुट्न खोजेजस्तो लाग्ने । जुथुलपुकमा पनि देख्नमा आकर्षक विश्रामगृह अर्थात् होटल भएता पनि उक्त होटल परिसरमा पनि शौचालय भने थिएन । जसोतसो रात काटेर भोलिपल्ट झिसमिसेमै दार्चेन तर्फको यात्रा थालियो । झण्डै साढे तीन घण्टाको पैदल यात्रापछि दार्चेनमा पुगेर सवारीसाधन मार्फत घरफिर्ताका क्रममा केरुङतर्फ प्रस्थान गरियो । भोलीपल्ट अर्थात नवौं दिन चिनको अध्यागमन पार गर्दै स्वदेशको प्रवेश ।

कैलाश यात्रा गर्दा साथमा के लैजाने ? कति लैजाने ?

कैलाश–मानसरोवरको यात्रा आरम्भ गर्नु अघि त्यतातर्फ जाने सोच बन्दै गर्दा हामी कुनै न कुनै एजेन्सीसँगको सम्पर्कमा पुगिहाल्छौं । ‘यो लैजाने, त्यो लैजाने’ भनेर एउटा सूची एजेन्सीले पनि थपाइहाल्छ ।

सकेसम्म हल्का र न्याना अनी लगाउन सजिला कपडा लैजानु पर्ने हुन्छ । झण्डै १० – १२ दिनका लागि गरिने कैलाशसम्मको यात्राका क्रममा दार्चेनसम्म आफूले लगेको समान आफूसँगै गाडीमा हुने हुँदा खासै समस्या भएन । तर, दार्चेनबाट ३ दिने पैदल परिक्रमाको क्रम सुरु हुनु अघि आफूलाई अति आवश्यक समानको मात्रै भारी बोक्नु पर्ने हुन्छ । उच्च भौगोलिक क्षेत्र भएकाले उक्त यात्राका क्रममा आफ्नै शरिर आफूलाई नै भारी लाग्ने हुन्छ । चिसो ठाउँ र उच्च भूभाग भएकाले शरिरमा अक्सिजनको मात्रा कमी नहोस् भन्न बेलाबेलामा तातो पानी सुरुप्प – सुरुप्प पारिराख्नु पर्ने हुन्छ, त्यसैले पानी राख्ने सानो थर्मस बोक्नै पर्ने हुन्छ । शरिरलाई ‘विकनेश फिल’ हुन नदिन ‘इनर्जी ड्रिंक्स’, कोकाकोला, डेरी मिल्क, स्नेकर्स लगायतका चकलेट अनी ओखर, काजु, बदाम, पेस्ता जस्ता ड्राईफुड्स, भुटेको मकै, गहुँ, सातु जस्ता खान्की थोरैथोरै भए पनि साथमा भएको बेस । आफ्नो स्वास्थ्य अवस्था अनुसार एक वा दुई थान अक्सीजन क्यान बोकेकै राम्रो ।

दुई दिन र एक विहानको पैदलयात्रा, त्यो पनि उच्च हिमाली भेग भएकाले शिरको पाउ लगाएको न्यानो कपडा बाहेक थप लगाउन पर्छ भनेर कपडाको भारी बोक्नु जरुरी छैन । हिउँ वा पानी पर्न सक्ने भएकाले रेनकोट, छाता अनीवार्यरुपमा लैजानै पर्ने हुन्छ । यात्राका क्रममा ढुंगेबाटो त्यो पनि चिप्लो हुने र पानी वा बरफ पस्न नदिन पनि बलियैखाले ट्रेकिङ जुत्ता नै प्रयोग गर्नु पर्ने हुन्छ । उकालोमा थकान हटाउन जिउ धान्ने साहारा, अनी ओरालोमा टेक्नका लागि बलियो हल्का लठ्ठीको पनि आवश्यक पर्छ ।

देरापुगबाट डोल्माला पास जाने क्रममा घाम लागेपछिको यात्रा असहज हुने भएकाले विहान सबेरै अर्थात् अँध्यारैमा निस्कनु पर्ने हुँदा एउटा हल्का टर्च लाईटको पनि जोहो गरेकै वेश ।

यती भइसकेपछि बेलाबेलामा अक्सीमीटर चेक गर्दै शरिरलाई आराम दिँदै उकालो चढ्दा बाटो काटिएको पनि पत्तै हुँदैन । अनी, स्वास्थ्य समस्या पनि पर्दैन । सबैभन्दा महत्वपूर्ण अनी जतिबेलै मनमा राख्नु पर्ने के भन्दा दार्चेनबाट जुथुलपुग नपुग्दासम्म आफ्नो शरिरमा आएको असहजता बारे आफ्नो समूहका सदस्यलाई शेयर गर्ने गरौं, असजिलो मान्दै नमानौं । त्यही सानो गल्तीले ठूलो अनी गम्भीर समस्या उत्पन्न गराउन सक्छ, तत्काल ज्यानै पनि जान सक्छ ।

र, अन्त्यमा हिन्दुलगायत आधा दर्जन धर्मालम्वीले महान् एवम पवित्र ठान्ने तीर्थस्थलमा पुगेर पनि आफ्नो घरपरिवार, नातागोता, साथीभाइ, शुभेच्छुकलाई तीर्थस्थलको सम्झना स्वरूप उपहार वा चिनोका रूपमा किन्ने समान नपाउनु, त्यत्रो तीर्थस्थलमा शिवालय, मठमन्दिर कहीँकतै नहुनु, दैनिक हजारौं धार्मिक पर्यटकले पदयात्रा गर्ने पवित्र तीर्थस्थलप्रति चिन सरकारले उपेक्षा गरेजस्तो लाग्नुले पनि तिर्थयात्राका क्रममा मन केही खल्लो बनिरह्यो । कैलाशको यात्रा थाल्नु अघि भगवान शिवशंकरको बासस्थानमा जाने भइयो भनेर जुन उत्साह पालिन्छ, जुन ब्यग्रता हुन्छ । त्यो कैलाश पुगेर फिर्ता आउँदासम्म उल्लेखित कारणबस् त्यो उत्साह, त्यो ब्यग्रता सबै शिथिल भइसक्छ । त्यसैले कसैको लहैलहैमा वा लहडमा होइन कि कैलाश यात्रा बुझेर मात्रै गरौं । जय शम्भो, जय श्री कैलाशपति भगवान !

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक