– खडग पाण्डे
एक घटनामा श्रीमान र श्रीमतीबीच ठूलै झगडा भयो। रिसले चुर भएका श्रीमानले आफ्नो क्रोध व्यक्त गर्दै कटाक्ष गरे— “यस्ता महिलासँग विवाह गर्नु भन्दा त बरु राक्षसीसँग विवाह गरेको भए सायद शान्ति मिल्थ्यो!” श्रीमतीले पनि आफूलाई रोक्न सकिनन् र तीव्र प्रतिक्रिया जनाइन्— “त्यही त, आफ्नै नातागोता र गोत्रमा विवाह गर्नु हुँदैन भनेर राक्षसीसँग विवाह नगर्नु भएको होला नि!” यो संवादले उनीहरूका सम्बन्धमा गहिरो दरार रहेको स्पष्ट देखाउँछ। यस्ता सम्बन्धमा न त प्रेमको आभास पाइन्छ, न सद्भावको अनुभूति हुन्छ। आत्मीयता र विश्वासको अभावबीच पनि उनीहरू एउटै छानामुनि बसिरहेछन्— आफ्नो व्यक्तिगत स्वार्थ, सम्वन्ध टुट्दा विगत र वर्तमानमा आफुबाट भए गरेका आफ्ना कमजोरी, बेईमानी, धुर्त्याई, फट्याई, छलकपट, आडम्वरिपन, षड्यन्त्र, पाखण्डीपन र ढोगिपनको पर्दाफास हुने त्यसको प्रतिकृया स्वरुप आईलाग्ने झमेला र भय वा डरको कारणले।
अहिलेको नेपालको सत्ता राजनीति यसरीनै घिस्रिरहेको छ। यस्तो सम्बन्धलाई हामी “स्वार्थको संम्वन्ध” भन्दछौ। अहिले काँग्रेसप्रति आलोचना गरियो भने एमालेलाई रिस उठ्छ; एमालेमाथि टिप्पणी गरियो भने काँग्रेसले त्यसको प्रतिकार गर्छ। जब स्वार्थका धागोले दुई जना गाँसिन्छन्, तब एकले अर्कोको बेइमानी र लुटमा पनि ताली बजाउँछ। अपराध देख्दैनन। किनभने ऐनामा आफू पनि त्यस्तै देखिन्छ। स्वार्थको सौदाबाजी। अर्थात “सत्ता रक्षाको स्वार्थ”। यस्तो गठजोडमा एक-अर्का प्रतिको प्रसंसा कृतिम हुन्छ। सम्मान औपचारिक हुन्छ। यस्ता संम्वन्धहरुमा आत्मियता पनि हुँदैन र दिर्घकालिन पनि हुँदैन। स्वार्थको अनिवार्यताले सिर्जिएको संम्वन्धहरु अनुकुलता सकिएपछी फेरी चुड्कीभरमै सत्रुमा रुपान्तरण हुन्छ। प्रचण्ड र झोले बा को सम्वन्ध हेर्यो भने प्रष्ट देख्न सकिन्छ।
म स्वघोषणा गर्दछु कि म भौतिक जगतमा विश्वास गर्ने व्यक्ति हुँ। वेद, पुराण, कुरान वा बाइबल मेरा लागि केवल अध्ययनका सामग्री हुन्। अलौकिकता वा परलोकप्रति न त मेरो मोह छ, न चिन्ता। मैले यहाँ उल्लेख गरेका ग्रहहरू धार्मिक कथाबाट उदाहरणस्वरूप मात्र उल्लेख गरेको हुँ।
राहु: ज्योतिषशास्त्रमा राहु, केतु र शनि अत्यन्त प्रभावशाली र रहस्यमयी ग्रहहरू मानिन्छन्। यिनीहरूको प्रभाव मानवीय जीवनमा शुभ–अशुभ, उचाइ–गिरावट, कर्मफल र भाग्यका निर्णायक कारक बन्न सक्छन्।पौराणिक दन्त्यकथाअनुसार, समुद्र मन्थनको समयमा अमृत पिएको एक दैत्य (स्वर्भानु) लाई विष्णुले शिर र धड छुट्याइदिए। शिरको भागलाई राहु भनियो, जसका कारण राहुसँग शरीर छैन- टाउको मात्र छ। राहु कुनै भौतिक ग्रह होइन, यो एक छायाग्रह हो। चन्द्रग्रहणको समयमा चन्द्रमालाई ढाक्ने बिन्दुलाई राहु भनिन्छ। छल, कपट, भ्रम, मोह, आकस्मिक घटना, विदेश यात्रा, प्रविधि, राजनीति आदि राहुका क्षेत्रहरू हुन्। राहुको दशा वा दृष्टिको प्रभावले व्यक्ति भ्रममा पर्न सक्छ, मानसिक अशान्ति र तनावको अनुभव गर्न सक्छ।
नेपालको समकालीन सत्ता–राजनीति कुनै गहिरो दर्शन, सिद्धान्त वा आदर्शको बलमा होइन, बरु “राहु प्रवृत्ति”को भरमा अघि बढिरहेको छ। खासगरी, आफूलाई गर्वका साथ “मार्क्सवादी–लेनिनवादी” भनी चिनाउने पार्टीहरूको व्यवहार र विचारधाराबीचको दूरी हेर्दा, उनीहरूलाई राहुको संज्ञा दिनु अन्याय हुने छैन। पौराणिक मान्यताअनुसार राहुसँग टाउको मात्र हुन्छ, शरीर हुँदैन। टाउकोको लहडमा, सोच र चाल अनियन्त्रित हुन्छ। आज नेपालका केही मार्क्सवादी पार्टीहरूको अवस्था त्यही राहुको जस्तो छ। न सिद्धान्तमा खुट्टा छ, न व्यवहारमा मेरुदण्ड। गोबरलाई गुण भनियो भने पनि त्यो गुणै हो भनेर मान्नुपर्ने बाध्यता निर्माण गरिएको छ। यो बौद्धिक तर्क होइन, अन्धविश्वासको राजनीतिक संस्करण हो।
अनि प्रश्न उठाउन खोजियो भने – “प्रश्न निषेधको जनवाद” सक्रिय हुन्छ। झोलाभित्र के छ थाहा नपाई झोला बोक्ने कार्यकर्ताहरू त्यो ‘झोला जनवाद’का वफादार अनुयायीझैं प्रस्तुत हुन्छन्। दर्शन, सिद्धान्त र आदर्शहरू एउटा खोपडीभित्र सीमित छन्। जसरी अनुकूल लाग्छ, त्यस्तै रूपमा निर्माण गरिन्छ। मुखमा वर्ग संघर्ष र समाजवादको कुरा छ, तर व्यवहारमा रामको मूर्ति खनेर मार्क्सवादी चिन्तनको चिहान खनिन्छ। के यो मालेवादी क्रान्तिको नयाँ मोड? कि ‘हिन्दुत्वको सन्देश बोकेको वाम–धर्म’? वर्ग–चरित्र र व्यवहार हेर्ने हो भने आजका नेताहरूको सोच, भाषाशैली, जीवनशैली र कार्यशैली मालेवादसँग भन्दा पनि राहुवादसँग नजिक देखिन्छ। छल, कपट, भ्रम, मोह, आकस्मिक निर्णय, व्यक्तिगत स्वार्थ र अराजक महत्त्वाकांक्षा। यी सबै तत्व मालेवादी किताब होइन, राहुको छायाबाट प्रेरित देखिन्छन्। सबैभन्दा गम्भीर प्रश्न -के मालेवादले ‘भ्रमको खेती’ गर्न सिकाउँछ? के मार्क्सले “सिद्धान्तलाई जति लचिलो बनायो, त्यति सत्ता टिक्छ” भनेका थिए?
राहु प्रवृत्ति सत्ता पाउन मद्दत त गर्छ, तर दृष्टि धमिलो बनाउँछ। त्यसैले आजको सत्ता–संरचना एकदमै स्पष्ट छ, शरीरविहीन विचार, मुखौटोमा सिद्धान्त, र मनभित्र केवल स्वार्थ। यो त झोले विचार होइन, झोलाभित्र हराएको विचार हो।
केतु: राहुजस्तै केतु पनि एक छायाग्रह हो, जसको कुनै स्थिर आकार वा भौतिक अस्तित्व छैन। पुराणअनुसार, केतु र राहु असुर स्वरभानुका दुई टुक्रा हुन्, जसलाई विष्णुले सुदर्शन चक्रले छुट्याएका थिए। राहु टाउको र केतु धड भएको मानिन्छ। केतुको प्रभावले मानसिक भ्रम, अनिश्चितता, अप्रत्याशित दुर्घटना आदि घट्न सक्दछ। यस ग्रहलाई शान्त पार्न केतु स्तोत्र जप गर्नुपर्छ, फलामको औंठी वा कालो वस्त्र धारण गरिन्छ, र कालो तिल, फलाम तथा कालो नुनको दान गरिन्छ।
नेपालको वर्तमान सत्ता राजनीतिमा आफूलाई प्रजातन्त्र र लोकतन्त्रको पर्याय ठान्ने पार्टीलाई केतुको प्रतीकको रूपमा लिन सकिन्छ। किनभने केतुसँग टाउको छैन। यानी सोच्न सक्ने संयन्त्र छैन, तर शरीर (खाने भाग) भने शेष छ। सोचबिना शरीर चल्दा के हुन्छ भन्ने दृष्टान्त यिनैहरू हुन्। जनता भन्दा ज्योतिषमा विश्वास गर्ने, तनभन्दा धनलाई प्राथमिकता दिने प्रवृत्ति केतुमा देखिन्छ। हिजोका पितापुर्खाले गरेका कर्मको ब्याजमा आजको पुस्ताले शासन गरिरहेको छ। के यही प्रजातान्त्रिक पद्धति हो? मानसिक भ्रमको कुहिरोमा प्रजातान्त्रिक समाजवाद रुमल्लिएको छ। कहिले यो पार्टीसँग टाँसिन्छ, कहिले उ पार्टीसँग। सधैं द्विविधा, अनिश्चितता र आत्महीनता। पुर्खाको पुन्यबाट आर्जित पुर्ख्यौली सम्पत्तिमा आफ्ना श्रीमती, प्रेमिका, साला र सालीहरूले विलासी रजगज गरिरहेका दृश्यहरू खुला आँखाले देख्न सकिन्छ। अझ स्पष्ट भनौं- यिनीहरू केतुजस्ता होइनन्, उल्टा केतु हुन्। कम्तिमा केतु जस्तै भइदिएको भए सांसारिक मोहबाट टाढा जान प्रेरित गर्थे, तर यिनीहरू त मोहमा चुर्लुम्मै डुबेका छन्। मानसिक भ्रम, अनिश्चितता र दिशाविहीनता नै यिनको वर्ग चरित्र बनेको छ।
राहु र केतुको मिलन: यदि तपाईं ज्योतिषशास्त्रमा विश्वास गर्नुहुन्छ भने नेपालमा जे भैरहेकोछ त्यसले झनै अचम्ममा पार्न सक्छ। किनभने ज्योतिषअनुसार राहु र केतु कहिल्यै सँगै आउन सक्दैनन्। यी दुई छायाग्रही बिन्दुहरू सधैं एक अर्काबाट १८० डिग्री टाढा रहन्छन्। अर्थात् पूर्ण विपरीत दिशामा। तर नेपालको राजनीतिमा आज त्यही राहु र केतु एकै ठाउँमा उभिएर ‘सहमति’को नाममा सत्ताभोग गरिरहेका छन्। स्वार्थको राजनीतिले असम्भव राहु र केतुको मिलनलाई सम्भव बनाएको छ। नेपालको सत्ता संयोजन अहिले त्यही छायाको मिलनबाट चलेको छ। नीति छैन, विचार छैन। छ केवल सत्ता भोग गर्ने लहड। हामी यिनै राहु–केतुको छायातन्त्रबाट समृद्धिको सपना देखिरहेका छौं। यस्तो सपनाको जग कति बलियो होला? जब राजनीतिक पार्टीहरू स्वयं राहु र केतु बनेका छन्, अनि ती छायाहरूको समिश्रणबाट उज्यालो खोज्नु कति यथार्थपूर्ण होला? नेपाली राजनीति आज भ्रम, मोह, महत्वाकांक्षा र हठको “राहु–केतु” युगमा प्रवेश गरिसकेको छ। जहाँ सत्यभन्दा झुट बलवान छ, मार्गभन्दा लहड बलियो, र लोकतन्त्रभन्दा गठबन्धनको अंकगणित ठूलो।
शनि: अब चर्चा गरौं शनिको। शनि सौरमण्डलको एक वास्तविक ग्रह हो, जसलाई ज्योतिषमा ‘क्रूर’ ग्रहको रूपमा चिनिन्छ। शनि सूर्यको पुत्र मानिन्छ, र उसको दृष्टि कठोर तर न्यायप्रिय मानिन्छ। मानिसले गरेका कर्मअनुसार फल दिनु नै शनिको प्रमुख विशेषता हो। शनि जब कुण्डलीमा प्रतिकूल स्थानमा पर्छ, तब मानिसमा तनाव, निराशा, सामाजिक बेइज्जती जस्ता समस्याहरू देखापर्न सक्छन्। तर, यथार्थ के हो भने—शनि सजाय दिन होइन, सुधारका लागि आउँछ भन्ने मान्यता छ। इमानदार, अनुशासित, र कर्मनिष्ठ जीवनशैली अपनाउनेहरूले शनिको अशुभ प्रभावबाट मुक्त हुन सक्ने विश्वास गरिन्छ।
राजनीतिक प्रतीकको रूपमा हेर्ने हो भने—शनि ग्रह आफैंलाई ‘क्रान्तिकारी’, ‘न्यायको पक्षधर’, र माओवादको सच्चा अनुयायी भनी चिनाउने राजनीतिक दलको पर्याय ठान्न सकिन्छ। शुरुवातमा सुधारका उद्देश्य बोकेको शनि, नेपाली राजनीतिक रंगमञ्चमा जब राहु र केतुजस्ता प्रवृत्तिहरूसँग सम्पर्कमा आयो, त्यसपछि उसले आफ्नो मूल स्वरूप नै गुमाउन थाल्यो। सुधारको वाहक बनेर आएको शनि, विस्तारै आफू सुधारको पात्र बन्न पुग्यो। कर्मको फल दिने हो भन्ने सोचबाट हटेर आफैं कर्मफलको उपभोक्ता बन्न थाल्यो। सिद्धान्तका ज्वालाहरू बिस्तारै निभ्न थाले, आदर्शका झिल्का हराउँदै गए। उ त्यही राहु–केतुको भाषामा बोल्न थाल्यो, झोली थाप्न थाल्यो, कालो वस्त्र ओढ्न थाल्यो। पालो कुर्ने शैली अवलम्बन गर्यो। हिङ बाधेको टालो देखाएर गुजारा चलाउने अवस्थासम्म आइपुग्यो। त्यो शनि, जसले समाजमा अनुशासन र न्यायको चेतना फैलाउनु पर्ने थियो, आफैं अन्य ग्रहहरूको छायामा विलीन भइदियो। नेपाली राजनीतिमा शनिको प्रवेश आशाको रूपमा भएको थियो—परिवर्तनको वाहक र समतामूलक विचारको प्रतिकका रूपमा। तर जब त्यो शनि राहु र केतुसँग संगतमा गयो, उसले क्रान्तिको ज्वालालाई राखको ढिस्कामा परिणत गरिदियो।
हामी यिनै छायाहरूको मिलनबाट समृद्धिको सपना देखिरहेका छौं। समाजवादको यात्राामा देखिएका ग्रहहरुको विष्लेषण गर्दा देश महादशामा देखिन्छ। समाजवादको बर्को भित्र कमाउवादको ग्रहणले लुटिरहेको छ। यो महादशाको मुक्तिकोलागि सडक एक मात्र विकल्प बाँकी छ।


