बागमती नदीको चोभार गल्छी खण्डमा थुप्रिएको गेग्रान र ढुंगा पन्छाएर नदी प्रवाह सहज बनाउने निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत जेठमै गरेको थियो।
गल्छीको सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व नष्ट हुने गरी काम गरिए मान्य नहुने चेतावनी स्थानीय बासिन्दाले दिएपछि गेग्रान तथा ढुंगाका ब्लक हटाउने काम गर्न सकिएको छैन। यसबाट वर्षायाममा बागमतीको पानी प्रवाहमा अवरोध सिर्जना भई आसपासको क्षेत्र डुबानमा पर्ने जोखिम देखिएको छ। गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने हो कि भन्ने आशंका स्थानीय बासिन्दामा छ।
सहरी विकास मन्त्रालयमातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार कीर्तिपुर नगरपालिकालाई चिठी पठाएर गेग्रान र ढुंगाका ब्लक हटाउन सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ। चिठीको बोधार्थ नेपाली सेना र ललितपुर महानगरपालिका वडा नम्बर ६ को कार्यालयलाई समेत पठाइएको छ।
चिठीमा चोभार क्षेत्रमा बागमती नदीको दायाँबायाँ किनारातर्फ कुनै पनि संरचना बनाउने, खन्ने कार्य नगरी चोभार गल्छीभन्दा माथि नदीको बिचमा रहेका ठुलाठुला ढुंगा विष्फोटक पदार्थको प्रयोग नगरी नेपाली सेनाबाट मेसिन र मानवीय जनशक्ति प्रयोग गरेर हटाउने तथा उक्त क्षेत्रको सांस्कृतिक एवं ऐतिहासिक महत्त्वमा कुनै असर नपुग्ने गरी काम हुने भएकोले आवश्यक समन्वय तथा सहयोगका लागि अनुरोध गरिएको छ।
गत जेठ १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकतानुसार नेपाली सेनासँग समन्वय गरी काम गर्ने’ भन्ने निर्णय गरेको थियो। त्यसअघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्राविधिक कर्मचारीले चोभार गल्छी पुगेर स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए।
निरीक्षणपछि प्राविधिकले चोभार गल्छीभन्दा माथि नदीमा ठुलाठुला ढुंगा खसेको र थप खस्न सक्ने अवस्था रहेको प्रतिवेदन तयार गरेका थिए। प्रतिवेदनमा ‘ललितपुर–१८ र कीर्तिपुर–६ बिचको चोभार क्षेत्रअन्तर्गत चोभार गल्छीमा दुवै किनारातर्फबाट पहिरो गई खोलाको सतह करिब दुई मिटर माथि उठेको र पहिरोका कारण गल्छीमा खसेका ढुंगा र थुप्रिएका गेग्रानका कारण बहाव अवरुद्ध हुने र वर्षायामअगावै नहटाए उक्त खण्डअन्तर्गतका सक्षम बस्तीलगायत आसपासका क्षेत्रमा खतराको सम्भावना रहेको’ बेहोरा उल्लेख छ।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रतिवेदनसहितको पत्र सहरी विकास मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले सो प्रतिवेदन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पठाएको थियो। त्यसपछि विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको बैठक बसेको थियो।
बैठकले बागमती नदीमा खसेका ढुंगा र गेग्रान हटाउन नेपाली सेनासँग सहयोग लिने निर्णय गरेको थियो। ‘हामीले मञ्जुश्रीले काटेको गल्छी बढाउन खोजेका होइनौं। त्यहाँ थुप्रिएको ढुंगा–गेग्रान हटाउन खोजेका मात्र हौं,’ विकास समतिकिा सूचना अधिकारी उद्धव नेपालले भने।
मौमसविद्हरूले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। गत असोज ११ र १२ गते वर्षासँगैको बाढीले उपत्यकाका नदीकिनारका क्षेत्र डुबानमा परेका थिए।