ढल्केबर। मधेश प्रदेशलाई अन्नको भण्डारसँगै आँपको राजधानी समेत भन्ने गरिएको छ। देशमै सबैभन्दा बढी आँप उत्पादन हुने गरेकाले पनि यो प्रदेशलाई आँपको राजधानी भन्ने गरिएको हो। फलफूलको राजा भनेर चिनिदै आएको आँपको यहाँ व्यवसायिक तथा परम्परागत तरिकाले खेती गरिन्छ। विशेष गरी बमई, माल्दा, दसहरी, कृष्ण भोग, आम्रपालीलगायत ४० भन्दा बढी प्रजातिको आँपखेती गरिँदै आएको छ। यहाँका कतिपय किसानले घना बगैंचामा विविध जातका आँप रोपेर व्यावसायिक उत्पादन गरिरहेका छन् भने केहीले परम्परागत तरिकाले आँपको खेती गर्दै आएका छन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव डा. उमेश दाहालले आँपखेतीका लागि यो प्रदेश उर्वरभूमि भएको जनाउनुभयो। यहाँको हावापानी, माटो आँप उत्पादनका लागि सुहाउँदो छ। आँप उत्पादनमा यो प्रदेशको ७७ प्रतिशतभन्दा बढी योगदान रहेको उहाँको भनाइ छ। सचिव दाहाले देशका अन्य भागमा समेत आँप खेती हुने गरेको भए पनि व्यापारिक तथा परिमाणका हिसाबले मधेश प्रदेश सबैभन्दा अगाडि रहेको जनाउनुभयो।
मन्त्रालयको तथ्याङ्क अनुसार देशभर ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुन्छ। जसबाट वार्षिक पाँच लाख १३ हजार ५५ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ । यसमध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ। जहाँबाट वार्षिक तीन लाख ९५ हजार ७९४ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ।
प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लामा व्यावसायिक रूपमै आँप खेती हुँदै आएको छ। आँप उत्पादनको दृष्टिले सिरहा सबैभन्दा अगाडि रहेको छ। सिरहमा वार्षिक एक लाख ४ हजार ६७६ मेट्रिक टन आँप फल्छ भने सप्तरीमा ९६ हजार, धनुषामा ३६ हजार ९१६, महोत्तरीमा ३२ हजार ७२२, सर्लाहीमा ३९ हजार ११८, रौतहटमा ६२ हजार ५६१, बारामा १९ हजार २६९ र पर्सामा ४ हजार ७३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्कमा छ । तथ्याङ्क अनुसार यस प्रदेशमा ७७ दशमलव एक प्रतिशत आँप उत्पादन हुने गरेको छ।

नेपाल होटल तथा पर्यटन व्यवसायी सङघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले स्थानीय आँपको उत्पादनलाई व्यवस्थित बजारीकरणका लागि तीनै तहको सरकार जोड दिनुपर्ने जनाउनुभयो। उहाँले आँपबाट बन्ने अचार, सुकुटी, अमोटजस्ता परिकारलाई प्रवद्र्धनको आवश्यकता औल्याउँदै विदेशी आँपको आयात रोक्न स्थानीय कृषकको आँप भण्डारण गर्ने विषयमा अब ध्यान केन्द्रित गर्नुपर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सिजन सकिएलगत्तै बजारमा महँगो विदेशी आँपको बिगबिगी हुन्छ। त्यसले स्थानीय कृषकलाई ठूलो मारमा पार्छ। अहिले स्थानीय उत्पादनलाई भण्डारण गर्न सकियो भने हामीले केही हदसम्म विदेशी आँपको आयातको क्रमलाई नियन्त्रण गर्न सक्छौं। यसले स्थानीय कृषकलाई निकै फाइदा पुग्छ। मधेशमा आँपको माध्यमबाट पनि पर्यटनसँग जोड्न सकिने प्रचुर सम्भावना रहेको गौतमले जनाउनुभयो।
मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीले आगामी वर्षमा आँप उत्पादनको क्षेत्र थप विस्तार गरिने योजना रहेको जनाउनुभयो। ‘आँप बगैंचा, मधेशको समृद्धि’ भन्ने नारा दिएर मधेश सरकार यसको प्रवद्र्धन जुटेको बताउँदै उहाँले त्यसलगायत आँपबाट जुस, अचार, पाउडर लगायतका परिकार उत्पादन गरी मुलुकभित्र र बाहिर निर्यात गर्ने दीर्घकालीन योजनामा समेत काम भइरहेको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “आँप उत्पादनलाई अझ प्रविधिमैत्री, आधुनिक र निर्यातमुखी बनाउने मधेश सरकारको योजना छ। यसले मधेश प्रदेशको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्छ ।” प्रदेश सरकार ‘आँप मिसन कार्यक्रम’ अन्तर्गत प्रशोधन केन्द्र स्थापना, भण्डारण र बाहिरी मुलुकमा निर्यात गर्नेसम्मको योजना अघि बढाइएको मन्त्री क्षेत्रीले जनाउनुभयो।


